Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जातीय विभेद हटाउन पालिकाले गर्‍यो सहभोज, दलित–गैरदलितको भान्सा एउटै

जातीय विभेद हटाउन पालिकाले गर्‍यो सहभोज, दलित–गैरदलितको भान्सा एउटै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०८० शनिवार • ०६:१७:२० बजे
  • 4.7K
    SHARES
  • जातीय विभेद हटाउन पालिकाले गर्‍यो सहभोज, दलित–गैरदलितको भान्सा एउटै

    अघिल्लो वर्ष माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा ब्रतबन्धको भोज छोएको भन्दै एक जना दलित युवामाथि दुर्व्यवहार भयो । आफूमाथि विभेद गरिएको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए । उनलाई विभेद गर्ने अरु कोही नभएर सोही वडाका जननिर्वाचित सदस्य थिए । परियारले वडा सदस्य रामजी लामिछाने, छिमेकीहरु सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध उजुरी दिए । दलितले भान्सा छोएको भन्दै रामजीले भोजमा पाकेका सबै खानेकुरा फालिदिएका थिए । त्यो घटनापछि गाउँमा छिमेकीबिचमै फाटो आयो । त्यसपछि त्यहीँका जनप्रतिनिधिहरुले जुक्ति निकाले ‘सहभोज आयोजना गर्ने ।’

    images

    वडाबाट उक्त प्रस्ताव गाउँपालिकामा गयो । पालिकाले बजेट छुट्याइदियो । शुक्रबार रिभानमा पालिकाभरिका भद्र भलादमी बोलाएर सहभोज आयोजना गरिएको छ । ‘रिभानलाई राम्रो भनेर कसैले चिन्ने भएनन् । अलि वर्ष पहिले बाढीले घर बगाएर मान्छेको ज्यान गयो । पोहोर जातीय विभेदको त्यत्रो घटना भयो,’ त्यहाँका वडाध्यक्ष नारायण पौडेलले भने, ‘धन्न अहिले सहभोज राखेर पोहोरको मैलो पखाल्न पाइयो । अब गाउँमा जातीय विभेदलाई निरुत्साहित गर्न सहयोग पुग्छ ।’ सहभोजमा दलित र गैरदलितले एउटै भाँडाबाट खाना झिकेर खाएका छन् । त्यसअघि स्थानीय अगुवा गमबहादुर विकले पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापालाई आफ्नै हातले तरकारी चखाए ।

    ‘मन्त्रीलाई त्यत्रा मान्छेका अगाडि तरकारी खुवाउँला भनेर सोच्दै सोचिएन नि कहिलै पनि,’ उनले भने, ‘आज संसारै जितेजस्तो भएको छ ।’ आजभोलि केही लचक भए पनि पहिलेका दिनहरुमा कथित उपल्लो जातबाट पाएको दुःख उनको मानसपटलमा ताजै छ । ‘बाटो हिँड्दा उपल्लो जातको देखे बाटै छोडेर बस्नुपर्थ्यो । खाना खाएपछि भाँडा माझेर सुनपानी छर्किने चलन अहिले पनि छ,’ उनी भन्छन्, ‘आज सहभोज सँगै बसेर खाइयो । केही नभए पनि गाउँमा विभेद अपराध हो भन्ने सिकाइचाहिँ भएको छ ।’ मन्त्री थापाले विभेद मान्छेबाटै भएकोले सुधार पनि मान्छेले नै गर्नुपर्ने बताए । ‘मान्छेको उत्पत्तिमा विभेद थिएन । विभेद हामीले नै गरेका हौँ,’ उनले भने, ‘पशुबस्तुले छोएको खान धक मान्दैनौँ, मान्छेले छोएको खाँदा गाह्रो मान्नुपर्ने कारण के छ ?’ उनले भने ।

    संविधानबाटै जातीय छुवाछुत बर्जित भएकाले व्यावहारिक रुपमा पनि विभेद अन्त्य हुनुपर्ने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सबै नागरिक समान हुन् भन्ने सन्देश दिनकै लागि सहभोज गरिएको बताए । ‘मान्छेमा जात कहाँ छ ? महिला छन्, पुरुष छन् । अरु के छ ?,’ उनले भने, ‘जसलाई काटे पनि रातै रगत आउँछ । अनि विभेदचाहिँ के को हो ? अब पालिकामा कसैले विभेद सहँदैन, कसैले विभेद गर्दैन ।’ उनले आगामी दिनमा पनि जनचेतनामुलक कार्यक्रम गरिरहने बताए । वडा तहमा पनि सहभोजका कार्यक्रम राखिएका उनको भनाइ छ । उपाध्यक्ष सीता अधिकारीले धर्म र संस्कृतिका नाममा विभेद बढेको भन्दै रुपान्तरण हुन आग्रह गरिन् । ‘हामी २१ औँ शताब्दीमा गैसक्यौँ । अझै पनि संस्कार र संस्कृतिका नाममा दलितमाथि विभेद हुन्छ ।

    त्यस्ता संस्कृति हामीले नै फेर्ने हो, फेर्नुपर्छ,’ उनले भनिन्, ‘भाषणमा मात्रै होइन । व्यावहारिक रुपमै परिवर्तनको महसुस होस् ।’ दलित अधिकारकर्मी उदयकुमार नेपाली जातीय विभेद समाजको कलंक भएको बताउँछन् । ‘यो अभियान हरेक वडा र टोलमा लैजानुपर्छ । जातीय छुवाछुत समाजको कलङ्क हो भन्ने महसुस नहुँदासम्म निर्मुल गर्न गाह्रो छ,’ उनले भने । वडा नम्बर ६ का अध्यक्ष टेकनाथ गौतम सार्वजनिक समारोहमा सँगै बसेर खाँदैमा छुवाछुत अन्त्य नहुने बताउँछन् । ‘सबैको दैलोबाट चुलोसम्म जान पाउँछ कि पाउँदैनन् ? बोल्दा मिठो बोल्छौँ । तर सहभोज कार्यक्रम हरेक व्यक्तिको चुलोमा पुग्न सकेको छैन,’ उनी भन्छन्, ‘आज झिल्को बलेको छ । यसले पूरै समाज ढाक्नुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology