Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस वर्ष रासायनिक मलको अभाव नहुने

यस वर्ष रासायनिक मलको अभाव नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०८० शुक्रवार • ०८:२२:२२ बजे
  • 685
    SHARES
  • यस वर्ष रासायनिक मलको अभाव नहुने

    बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ ।

    images

    कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ । “गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो”, उनले भने, “हामीले प्राप्त भएको डिएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।” गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ”, उनले भने । “ करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ”, प्रमुख पाण्डेयले भने, “युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।”

    त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या हुँदैन, उहाँको भनाइ छ । तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक बर्ष २०८०÷८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डिएपी १९ हजार दुई सय १३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०÷८१ मा प्राप्त मलमध्ये हालसम्म डिएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन र पोटास एक हजार पाँच सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताए ।

    हाल युरिया एक सय ५१ मेट्रिक टन, डिएपी तीन हजार आठ सय ६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उनको कथन छ । अबको एक महिनाभित्रमा डिएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिए । रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँड भएअनुसार जिल्लाजिल्लामा मल पठाउँदै आएको उनले बताए। कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा आएको युरिया ५५ हजार दुई सय ९७ मेट्रिक टन, डिएपी ३० हजार सात सय ६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार चार सय ८८ मेट्रिक टन, डिएपी २६ हजार ६ सय ६ र पोटास एक हजार सात सय ३१ मेट्रिक टन रासायनिक मल जिल्लाजिल्लामा वितरण गरेको छ ।

    सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ । मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताए। सो कार्यालयमार्फत मधेस प्रदेशको आठवटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लम्जुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या हुने गरेको किसानको गुनासो छ ।

  • सम्बन्धित विषय:

  • # मलको अभाव नहुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology