चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार सो अवधिमा रेमिट्यान्स रु.७३३ अर्ब २२ करोड पुगेको बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको बैंकले जनाएको छ ।
गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो । असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित थियो । अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको हो ।
हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ ।