नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो ।
माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।
वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ ।
बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए । गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको हो ।