गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् ।
यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सरकारको मुख्य नारा सुशासन हो ।
त्यसैले तेरो–मेरो भन्ने कुरा छैन, कानुनी रुपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’ गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।
ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।
गुरुङ अहिले१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको आयोगको जाँचबुझ निष्कर्ष छ ।