Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण

भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८१ बिहिवार • ०६:२८:२० बजे
  • 541
    SHARES
  • भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण

    नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणाली केही दिनमा परीक्षण गरेर सञ्चालनमा ल्याउने भएको छ । काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालेको प्राधिकरणले जनाएको हो ।

    images

    भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन पनि प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा तोकिएको स्थानमा पोल विस्तारै हटाउँदै जाने योजना रहेकाले त्यसमा जडान गरिएका उपकरण र स‌ंरचना पनि हटाउन भनिएको हो ।

    ‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले सूचनामा भनेको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भूमिगत बिजुली वितरण सुरु भएसँगै सडकका पोल पनि पूर्ण रुपमा हटाउन सूचना प्रकाशन गरेको जानकारी दिए ।

    ‘भूमिगत विद्युत प्रणाली सुरु भइसकेका ठाउँमा पूर्ण रुपमा सडकका पोल हटाउने नै हाम्रो मुख्य योजना हो । हेरौं त्यसमा कति सफल भइन्छ’, उनले भने । प्राधिकरणले यसअघि नै रत्नपार्क, चाबहिल क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत वितरण सुरु गरिसकेको छ । तर ती ठाउँका बिजुलीका पोल अझै हट्न सकेका छैनन् । विद्युत भूमिगत प्रणालीबाटै वितरण सुरु भए पनि पूर्ण रुपमा पोल हटाउन नसकिएको घोष स्वीकार्छन् ।

    ‘प्राधिकरणले बिजुलीका पोल राखेपछि त्योसँगै धेरै कुरा जोडिएर आउने रहेछ । त्यसलाई हटाउन सकेका छैनौं’, घोषले अनलाइनखबरसँग भने, ‘अहिले त पोलको भारवाहन क्षमता बढी भएर कतिबेला के हुने हो भन्ने जोखिम पनि बढेको छ ।’ प्राधिकरणले ०७६ सालदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु गरेको थियो ।

    पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ फागुन ५ गते महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको उद्घाटन गरेका थिए ।

    भूमिगत विद्युत प्रणाली योजना अहिले काठमाडौं उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ । सबै ठाउँमा काम करिब अन्तिम चरणमा पुगिसकेको प्राधिकरणका प्रवक्ता घोषले जानकारी दिए । ‘सबै ठाउँमा अहिले पहिलो चरणको काम करिब ८० प्रतिशत सकिइसकेको छ । दोस्रो चरणको काम पनि २० प्रतिशत सकिइसकेको छ’, उनले भने, ‘पहिलो चरणको कामबाट सन्तुष्ट भएर भरतपुरकै विभिन्न ठाउँमा दोस्रो चरणको काम सुरु भएको हो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology