Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चैते धान रोपाइँको क्षेत्रफल घट्यो

चैते धान रोपाइँको क्षेत्रफल घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८१ शुक्रवार • ०६:३३:३० बजे
  • 526
    SHARES
  • चैते धान रोपाइँको क्षेत्रफल घट्यो

    लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष २ हजार ६७७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्रफल ४११ हेक्टर कम भएको रातोपाटीलाई बताए ।

    images

    प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुम बाहेक सबै जिल्लामा चैते धान हुने गर्दछ । प्रदेशमा सबैभन्दा धेरै चैते खेती बर्दियामा हुन्छ । बर्दियामा गत वर्ष एक हजार ४५० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष एक हजार २०१ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

    पाल्पामा गत वर्ष ७ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष घटेर ६३० हेक्टरमा सीमित भएको छ । गुल्मी जिल्लामा गत वर्ष ३४० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो भने यो वर्ष ३१९ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएको छ । निर्देशनालयका अनुसार अर्घाखाँचीमा गत वर्ष २०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले १७० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।

    प्युठानमा गत वर्ष ४० हेक्टरमा चैते धान खेती भएकोमा अहिले ५५ हेक्टरमा रोपाइँ भएको छ । यस्तै रुपन्देहीमा गत वर्ष ६० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले ५४ हेक्टरमा रोपाइँ भएको छ । कपिलवस्तुमा गत वर्ष १० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष ५ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

    नवलपरासीमा गत वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यो वर्ष ७ हेक्टरमा रोपाइँ भएको छ भने दाङ जिल्लामा गत वर्ष १९८ हेक्टरमा चैते धान खेती भएको थियो । दाङमा यो वर्ष २ सय हेक्टरमा चैते धान लगाइएको छ । बाँके जिल्लामा गत वर्ष ३५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो ।

    यो वर्ष भने ३६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको निर्देशनालयले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका बाली विज्ञ विवेक पन्थले चैत महिनाको पहिलो हप्तादेखि तेस्रो हप्ता रोपिने चैते धानका लागि लुम्बिनी प्रदेशमा हर्दिनाथ, चैते ५, चैते २, चैते ६ नामको बिउ किसानले प्रयोग गरेको बताए ।

    बबई सिँचाइ आयोजना मर्मत कारणले बर्दिया जिल्लामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेका कारण समग्र प्रदेशमै यो वर्ष चैते धान खेतीको क्षेत्रफल घटेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # चैते धान रोपाइँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology