प्रदेश ५ को रााजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा तनाव भएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञा तोड्दै आइतबार बिहानैदेखि बुटवलमा प्रदर्शन भएको हो ।
कोरोना महामारीको समयमा राजधानीको नाममा बुटवलमा तनाव भएपछि जिल्ला प्रशासन रुपन्देहीले निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा तोड्दै रुपन्देहीका उद्योगी व्यवसायी र संघसंस्थाले आइतबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘प्रदेश राजधानी बुटवलमा कायम गर’, ‘जनताको मत कदर गर’ भन्दै प्रदर्शन गरेका छन् । व्यवसायीले लुम्बिनी क्षेत्रका सांसदविरुद्ध चर्को नाराबाजीसमेत गरेका हुन् ।
आन्दोलनमा सहभागीले मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनसँग डराएर निषेधाज्ञा गरेको भन्दै भन्दै उनको चर्को आलोचना गरेका छन् । राजधानी बुटवल कायम नभएसम्म आन्दोलन नसकिने उनीहरुको भनाइ छ ।
आन्दोलनको अगुवाइ बुटवल उद्योग वाणिज्य संघ, होटल व्यवसायी, उद्योग संघलगायतले गरेका छन् । आन्दोलनमा सहभागीले लुम्बिनी बन्दको घोषणा गर्दै सांसदलाई त्यहाँ प्रवेश नै नदिने बताएका छन् । राजधानी सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देही कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ ।
निषेधाज्ञा तोड्दै प्रदर्शन सुरु भएपछि बुटवल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।