Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्थतन्त्रको आधार बन्दै पर्यटन,गत वर्षको भन्दा धेरै पर्यटक

अर्थतन्त्रको आधार बन्दै पर्यटन,गत वर्षको भन्दा धेरै पर्यटक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८१ आइतवार • ०४:१३:११ बजे
  • 1.6K
    SHARES
  • अर्थतन्त्रको आधार बन्दै पर्यटन,गत वर्षको भन्दा धेरै पर्यटक

    कोभिड–१९ महामारीका कारण थलिएको पर्यटन क्षेत्रमा फेरी उल्लास फर्कन थालेको छ । नेपालमा प्रतिमहिना सरदर १ लाखभन्दा बढी विदेशी घुम्न आउन थालेसँगै पर्यटन क्षेत्रमा पुरानै उल्लास फर्कन थालेको हो ।

    images

    सन् २०१९ मा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण अन्य मुलुकमा जस्तै नेपालमा पनि पर्यटन क्षेत्र खस्किएको थियो । सन् २०१८ र २०१९ मा प्रतिवर्ष ११ लाखभन्दा बढी विदेशी नेपाल आएकामा त्यसयता यो क्षेत्र नराम्ररी खुम्चियो । तर सन् २०२४ मा भने राम्रो सङ्केत देख्न थालिएको छ । यो वर्षको सुरुवाती ५ महिनाको अवधिमा औसतमा १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।

    ५ महिनाको अवधिमा हवाई मार्गबाट ५ लाख ६ हजारभन्दा बढी विदेशी नागरिक नेपाल घुम्न आएका हुन् । जुन, सरदरमा प्रतिमहिना १ लाखभन्दा बढी हो । नेपाल एउटै गन्तव्यमा ‘वाइल्ड लाईफ’देखि ‘माउन्टेन’ दृश्य अवलोकन गर्न सकिने मुलुक हो । जसकारण विदेशी मुलुकका नागरिक नेपाल झुम्मिने गर्छन् । तर, विगतमा पर्यटन पूर्वाधारको अभावमा विदेशी नागरिक नेपाल आउन हिचकिचाउने गर्थे । तर पछिल्लो समय ठुला विदेशी ब्रान्डका चेन होटेल समेत नेपालमा ओइरो लाग्न थालेको छ । जसले विदेशी पर्यटकलाई तान्न सहजीकरण समेत गर्ने गरेको छ ।

    केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२४ को जनवरीमा ७९ हजार १०० विदेशी नेपाल आएका छन् । यस्तै फेब्रुअरीमा ९७ हजार ४२, मार्चमा १ लाख २८ हजार १६७ जना नेपाल आएका छन् । यसैगरी, अप्रिलमा १ लाख ११ हजार ३७६ जना नेपाल आउँदा मे महिनामा ९० हजार २११ जना नेपाल आएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा सुरुवातदेखि नै धेरै विदेशी पर्यटक नेपाल आइरहेका छन् । २०२३ को सुरुवाती ५ महिनामा कुनै पनि महिना १ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिएनन् ।

    २०२४ मा लगातार दुई महिना १ लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएको तथ्याङ्क छ । २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ जना विदेशी घुम्न नेपाल आएका थिए । सन् २०२३ मा मार्च र अप्रिलमा लगातार ९९ हजार र ९८ हजार जना विदेशी आए पनि १ लाख कटेको थिएन । गत वर्षको सुरुवाती ५ महिनामा ३ लाख १४ हजार विदेशी नेपाल आएका थिए ।

    यही अवधिमा यो वर्ष ५ लाख ६ हजारभन्दा बढी नेपाली आइसकेका छन् । यसबाट सन् २०२४ मा ऐतिहासिक सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउने सम्भावना बढ्न थालेको छ । अहिलेसम्म नेपालमा उच्च विदेशी पर्यटकको सङ्ख्या ११ लाख ७९ हजार हो । कोभिड–१९ महामारी अघि लगातार दुई वर्ष ११ लाखभन्दा बढी विदेशी नेपाल भित्रिएका थिए । २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ७९ हजार जना विदेशी नेपाल भित्रिएका थिए । तर त्यसपछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले अन्य मुलुकमा जस्तै नेपालमा पनि पर्यटन व्यवसाय ध्वस्त बन्यो ।

    त्यसपछि २०२० मा २ लाख ३० हजार, २०२१ मा १ लाख ४९ हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२३ मा १० लाख १४ हजार जना विदेशी नेपाल आए पनि कोभिड अघिको जस्तो ११ लाख पुग्न सकेन । यो २०२२ को तुलनामा ४ लाख हाराहारीको वृद्धि थियो । यो वर्ष भने ११ लाखभन्दा बढी पर्यटक नेपाल भित्रने सङ्केत देखा परेको छ । जुन, नेपालको पर्यटन इतिहासमा नै ऐतिहासिक बन्न सक्छ ।

    २०२४ को सुरुवाती ५ महिनामा जस्तै विदेशी पर्यटक नेपाल आइरहे ११ लाखको सीमारेखा समेत पार गर्न सक्ने देखिन्छ । तर यसका लागि वर्षको अन्त्यसम्ममा नै यही गति कायम रहनुपर्छ । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य नै राखेको छ । यसअघि २०२० मा ‘भिजिट नेपाल’ नै घोषणा गरेर २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले तय गरेको थियो । तर सो लक्ष्य कोरोना महामारीका कारण चकनाचुर बनेको थियो । जुन, लक्ष्यलाई पछ्याउँदै सरकारले अब भने १६ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य तय गरेको छ । पछिल्ला अर्थमन्त्रीहरू नेपालको मुख्य प्राथमिकताको क्षेत्रमा पर्यटनलाई समेट्न थालेका छन् ।

    निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा चार व्यवसायीक क्षेत्रले उच्च सम्भावना बोकेको भन्दै भाषण गर्थे । उनका अनुसार पर्यटन, सूचना प्रविधि, जलविद्युत र कृषि क्षेत्र नै नेपालमा सम्भावनायुक्त क्षेत्र हुन् । सोही पदचाप पछ्याउँदै वर्तमान अर्थमन्त्री वर्षमान पुनले समेत नेपालमा पर्यटन उच्च सम्भावना बोकेको क्षेत्रकारुपमा पहिचान गरेका छन् । नेपालमा विदेशी पर्यटकलाई चाहिने पूर्वाधार समेत धमाधम बन्दै गइरहेका छन् ।

    नेपालमा हिल्टन, शेराटन, हायात, मेरियट, रमाडाजस्ता अन्तर्राष्ट्रिय चेन होटेल निर्माण भइसकेका छन् । नेपालमा ११ हजारभन्दा बढी कोठा निर्माण भइसकेको तथ्याङ्क छ । नेपालमा सञ्चालनमा रहेका र निर्माणाधीन अवस्थामा रहेका १८० भन्दा बढी तारे होटेलसहित होटेलमा यी कोठा उपलब्ध छन् । यी होटेलमा हजारौँको सङ्ख्यामा रोजगारी सृजना भइरहेको छ । व्यवसायीहरूका अनुसार नेपालमा प्रतिवर्ष ३० लाख हाराहारी विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार निर्माण भइसक्यो ।

    यस्तै पछिल्लो समय नेपालको अर्थतन्त्रलाई नै डोर्‍याउने बिन्दुमा पर्यटन क्षेत्र पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालू वर्षमा हुने आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान उच्च हुनेछ । यस्तै नेपाल राष्ट्र बैंकमा थुप्रिएको विदेशी मुद्रामा समेत पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान छ । केन्द्रीय बैंकमा चालू वर्षको ९ महिनाको अवधिमा १९ खर्ब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ । यसले नेपालको एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology