Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीले थाले पहल

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीले थाले पहल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०८१ शनिवार • ०६:१६:२७ बजे
  • 730
    SHARES
  • पोखरा र  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीले थाले पहल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउन पहल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले यही विषयमा उच्चस्तरीय छलफल गरेका छन् ।

    images

    छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सुझाव लिएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्त्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारका सबै निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए । ‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन् ।

    यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ । निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ । यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने । छलफलमा प्रधानमन्त्री प्रचण्डले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिएका छन् ।

    काठमाडौं विमानस्थलमा एयर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको समेत उनले बताए । काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको भन्दै उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्न निर्देशन दिए । वैदेशिक रोजगारीमा जाने नेपाली यात्रु र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्न समेत उनले निर्देशन दिए ।

    त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्न समेत उनले निर्देशन दिए । ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ, हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा केही सहुलियत दिऊँ, निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताए । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको उनले जानकारी दिए ।

    बैठकमा मन्त्री तामाङ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत उपस्थित थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology