Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जेठमा आश्चर्यजनक रुपमा बढ्यो रेमिट्यान्स

जेठमा आश्चर्यजनक रुपमा बढ्यो रेमिट्यान्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • ११:१२:१६ बजे
  • 1.7K
    SHARES
  • जेठमा आश्चर्यजनक रुपमा बढ्यो रेमिट्यान्स

    कोरोना महामारीका कारण लकडाउन लागू भएसँगै चैत महिनामा रेमिट्यान्स भित्रिने क्रम कम भएको थियो। तर, जेठ महिनामा आश्चर्यजनक रुपमा रेमिट्यान्स रकम वृद्धि भएको छ।

    images

    सामान्य अवस्थामा मासिक ७०–७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदै आएको थियो। तर, जेठ महिनामा भने एकै पटक ३० अर्ब बढी अर्थात एक खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको जेठ महिनामा ७४ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको थियो।

    नेपाल रेमिटर्स एसोसिएसनले पनि जेठ महिनामा असामान्य रुपले रेमिट्यान्स आएको बताएको छ।

    ‘जेठ महिनामा १ खर्ब रुपैयाँ रेमिट्यान्स आउँदा आफैँ आश्चर्यमा परेको छु,’ एसोसिसएनका अध्यक्ष सुमन पोखरेलले नेपालखबरसँग भने।

    उनले तीन कारणले जेठमा रेमिट्यान्स ह्वात्तै बढेको बताए।

    ‘पहिलो कुरा कडा लकडाउन हुँँदा नपठाएको पैसा आयो। अर्को, फर्किनेहरुले कम्पनीमा बाँकी रहेको सबैै सेवा सुविधा सहितको रकम ल्याए,’ उनले भने, ‘तेस्रो भनेको यो समयमा हुण्डीको कारोबार कम भयो।’

    पछि के कसो हुन्छ भनेर मान्छेहरु फर्किंदा सबैले बैंकमा जम्मा गरेको, कम्पनीबाट लिन बाँकी रहेको सबै रकम ल्याएको हुनसक्ने पोखरेलको अनुमान छ।

    नेपाल राष्ट्रबैंकको तथ्याङ्क हेर्दा पनि चैतमा अत्यन्त कम रेमिट्यान्स आएको थियो। चैतमा ३४ अर्ब रुपैंया मात्रै आएको थियो। वैशाखमा केही मात्रामा सो रकम बढेको थियो।

    चालू आर्थिक वर्षमा भदौमा सबैभन्दा बढी रकम भित्रिएको थियो। त्यसबे ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

    कुन महिनामा कति रेमिट्यान्स?
    महिना रेमिट्यान्स प्रवाह रुपैंयामा
    साउन : ७५ अर्ब
    भदौ : ७८ अर्ब
    असोज : ७७ अर्ब
    कात्तिक : ७४ अर्ब
    मंसिर : ७२ अर्ब
    पुस : ७१ अर्ब
    माघ : ६६ अर्ब
    फागुन : ७९ अर्ब
    चैत : ३४ अर्ब
    वैशाख : ५४ अर्ब
    जेठ : १ खर्ब

    नेपालीको श्रम गन्तव्य मुलुक सहित विश्वभर कडा लकडाउन हुँदा चैतमा रकम रोकिएको रेमिटर्स एसोसिएसनले जनाएको छ।

    ‘पहिलो कुरा त अन्योलका बीच विदेशमा रहेकाले पैसा पठाउन नै चाहेनन्, अर्को चाहेकाले पनि पठाउन पाएका थिएनन्। जसकाकारण चैतमा कम रेमिट्यान्स आएको थियो,’ पोखरेलले भने।

    अर्थमन्त्री युवराज खतिवडाले पनिसोमबार जेठ महिनामा आएको रेमिट्यान्स हेर्दा वार्षिक रेमिट्यान्स आप्रवाहमा ठूलो प्रभाव नपर्ने बताएका छन्।

    ‘कोरोना संक्रमणको महामारीका कारणले रेमिट्यान्समा जति असर पर्ने आकलन थियो, त्यस्तो नहुने देखिएको छ,’ उनले भने।

    उनका अनुसार अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरु ठूलो मात्रामा फर्किने आकलन गरिएको थियो। तर विदेशमा काम खुल्न थालिसकेको र नेपाली कामदारको माग समेत हुन थालेकाले अब त्यसमा आत्तिनुपर्ने अवस्था नभएको खतिवडाले बताए।

    रेमिट्यान्स प्रभावित नहुँदा नेपाली बैंकहरुमा तरलता अभाव नहुने उनको भनाइ छ।

    तर, अध्यक्ष पोखरेलका अनुसार चालू आर्थिक वर्षमा रेमिट्यान्स ५ प्रतिशत हाराहारीमा घट्नेछ। जेठमा अधिक मात्रामा रकम भित्रिएपनि असारको पछिल्लो विवरण हेर्दा जेठको तुलनामा निकै कम भएको छ।

    गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स चालू आर्थिक वर्षमा सवा खर्ब रुपैयाँले घट्ने पोखरेलको भनाइ छ।

    नेपालखबर

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology