Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०८१ सोमवार • ०४:४८:०४ बजे
  • 679
    SHARES
  • बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

    पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् । बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो ।

    images

    हाल बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

    बसपार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ । “नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ”, नगरप्रमुख श्रेष्ठले भने, “यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।” बागलुङ नगरपालिका–४ मा बनाइएको बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन ।

    हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् । नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ । नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ । अहिले नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको साँवा तथा ब्याज नगर विकास कोषलाई तिरिरहेको छ ।

    बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो । बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए । राजभण्डारीले ५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको जानकारी दिए । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ ।

    बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरमा चल्ने लामा दुरीका बस यही बसपार्कमा रोकिने भएकाले पर्यटन क्षेत्रमा समेत बागलुङले फड्को मार्ने बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # २३ वर्षपछि सम्पन्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology