नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
प्रदेश सभाका ८७ सांसदमध्ये नेकपाका ६१ सांसद छन् । दुईतिहाइले पारित गर्नका लागि ५८ मत आवश्यक हुन्छ । नेकपाले पनि पक्षमा मतदानका लागि ह्विप जारी गरेको छ ।
पक्ष विपक्षमा मतदान गर्नुअघि प्रमुख प्रतिपक्ष कांग्रेसले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले हिजोको बैठकमा बोलेको अमर्यादित शब्द हटाउन माग गर्दै सदन अवरोध गर्ने तयारी गरेकाे छ । केसीले विरोधमा उत्रिएका सांसदलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिएका थिए ।
कांग्रेसले विपक्षमा मतदान गरे पनि सत्तारुढ नेकपाका सांसदहरुले पक्षमा मतदान गरेमा सरकारको प्रस्ताव पारित हुनेछ । कांग्रेसले हिजोको बैठक कुर्सी तोडफोडमा संलग्न आफ्ना सांसदलाई कारबाही गर्ने पनि जनाएको छ ।