Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०८१ आइतवार • ०६:१५:०६ बजे
  • 562
    SHARES
  • २४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

    सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरू बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समीरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरू बेच्ने लक्ष्य राखेका छन्।

    images

    भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ । तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समीर बताउँछन् । समीर भन्छन्, “अहिले फूलको मूल्य पनि राम्रै छ, तिहारमा मात्रै रु पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु ।”

    २४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन्। आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वी क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन् । वार्षिक आम्दानी रु आठ लाखसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । “अरू समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ”, समीरको भनाइ छ ।

    उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष रु सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यस वर्ष रु दश लाख आम्दानीमा आशावादी छन् । “गत वर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यस वर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु”, उनले भने । समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लास्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।

    उनी भन्छन्, “हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।” भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # व्यावसायिक फूलखेती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology