Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने

भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०८१ मंगलवार • ०४:५३:०७ बजे
  • 529
    SHARES
  • भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीमध्ये दुईले निरन्तर उडान गर्ने र एउटाले एक महिना स्थगन गर्ने भएका छन् । तीनवटै वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भन्दै उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार छलफलमा बोलाएका थिए ।

    images

    युनाइटेड अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा उडान स्थगन गर्ने पत्राचार गरेका थिए । त्यसपछि प्राधिकरण महानिर्देशक अधिकारीले ती तीन वायुसेवाका नेपालस्थित प्रतिनिधिसँग छलफल गरेका हुन् । छलफलपछि थाई एयर एसिया र जजिरा एयरवेजले भैरहवाका लागि निरन्तर नियमित उडान गर्ने सहमति गरेको र फ्लाई दुबईले एक महिनाका लागिमात्र उडान स्थगन गर्ने बताएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

    ‘तीनवटै वायुसेवाका प्रतिनिधिसँग छलफल भयो । उनीहरूसँग राम्रै कुराकानी भयो,’ महानिर्देशक अधिकारीले भने, ‘फ्लाई दुबईले एक महिनापछि दैनिक एक उडान गर्ने बतायो । अरू दुईले भने निरन्तर उडान गर्ने बताए ।’ थाई एयर एसियाले प्रत्येक साता गरिरहेको तीन उडानमा एक कटौती गरी दुई निरन्तर गर्ने र सकेसम्म अर्को उडान सञ्चालन गर्ने प्रयास जारी रहने बताएको अधिकारीले जानकारी दिए । फ्लाई दुबईले १६ डिसेम्बर देखि १३ जनवरीसम्म मात्र उडान स्थगन गर्ने छलफलमा बताएको छ ।

    त्यसपछि भने भैरहवाका लागि नियमित उडान गर्ने जनाएको छ । उसले आगामी जनवरी १३–१४ देखि भैरहवाका लागि टिकट बुकिङ सिस्टममा राखिसकेको छ । जाडो मौसम सुरु भएपछि बाक्लो हुस्सुका कारण पछिल्लो समय भैरहवा विमानस्थलको भिजिबिलिटी १ हजार २ सय मिटरसम्म हुने गरेको छ । ठूला जहाज उडान–अवतरणका लागि यो पर्याप्त भिजिबिलिटी होइन ।

    ठूला जहाजका लागि कम्तीमा १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ । भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ (आरएनपीएआर) प्रणाली जडान नभएका कारण न्यून भिजिबिलिटीमा उडान–अवतरण गर्न नसकिएको हो । आरएनपीएआर प्रणाली जडान भएपछि न्यूनतम ८ सय मिटर भिजिबिलिटी हुँदा पनि ठूला जहाज सजिलै उडान–अवतरण गर्न सक्छन् । प्राधिकरणका अनुसार डिसेम्बर १२ मा भैरहवा विमानस्थलमा आरएनपीएआर प्रणाली रहेको ग्लोबल्ली प्रकाशित हुन्छ ।

    त्यसको ४२ दिनपछि आरएनपीएआर प्रणालीमार्फत उडान–अवतरण गर्न मिल्छ । हाल भैरहवामा फ्लाई दुबई, जजिरा र थाई एयर एसियाबाहके नेपाल वायुसेवा निगमले नियमित उडान गरिरहेका छन् । कतारको कतार एयरवेजले भने ३० नोभेम्बरसम्म मात्र नियमित उडान गर्ने अग्रिम जानकारी दिएर भैरहवाबाट फिर्ता भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # विदेशी वायुसेवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology