Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रम्पको शुभारम्भ कोषमा फेसबुकको १४ करोड दान, सुध्रिएकै हो जुकरबर्ग र ट्रम्पबीचको सम्बन्ध ?

ट्रम्पको शुभारम्भ कोषमा फेसबुकको १४ करोड दान, सुध्रिएकै हो जुकरबर्ग र ट्रम्पबीचको सम्बन्ध ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०८१ आइतवार • ०५:३५:१८ बजे
  • 823
    SHARES
  • ट्रम्पको शुभारम्भ कोषमा फेसबुकको १४ करोड दान, सुध्रिएकै हो जुकरबर्ग र ट्रम्पबीचको सम्बन्ध ?

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शुभारम्भ कोषमा फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले १० लाख डलर अर्थात् करिब १४ करोड रुपैयाँ दान गरेको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै मेटाका सीईओ मार्क जुकरबर्ग र ट्रम्पबीच उनको रिसोर्टमा भेट तथा सहभोजन भएको थियो र त्यसक्रममा मेटा र ट्रम्पबीचको सम्बन्ध सुधार गर्ने विषयमा कुराकानी भएको थियो ।

    images

    सोही छलफलको नतिजास्वरुप जुकरबर्गले ट्रम्पका लागि १० लाख डलर सहयोग गर्ने भएका हुन् । स्मरण रहोस् फेसबुकप्रति ट्रम्प निकै आलोचक रहने गरेका छन् । उनले सन् २०१७ मा जुकरबर्ग र फेसबुक दुवैलाई ट्रम्प विरोधी भएको आरोप लगाएका थिए । यसअघि सन् २०२० मा जो बाइडेनको र सन् २०१६ मा ट्रम्पको उद्घाटन कोषमा कुनै आर्थिक सहयोग नगरेको मेटाले यसपटक भने परम्परा तोडेको हो ।

    नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गरेको अवसरमा अमेरिकाका विभिन्न भागमा हुने कार्यक्रमहरुमा उक्त कोषको रकम खर्च गर्ने गरिन्छ । यस्ता कार्यक्रमहरुले नयाँ सरकारप्रति सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्ने अपेक्षा गरिन्छ । ट्रम्पको नयाँ कार्यकालको शुभारम्भ कोषलाई १० लाख डलर आर्थिक सहयोग गर्ने कुरा मेटाले बुधबार पुष्टि गरेको छ । डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपतिको सपथग्रहण गर्दैछन् । डोनाल्ड ट्रम्पसँग फेसबुक संस्थापक मार्क जुकरबर्गको सम्बन्ध ऐतिहासिक रुपमै कम सौहार्द रहने गरेको छ।

    सन् २०२१ को जनवरी ६ मा ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा मच्चाएको वितण्डा पश्चात् फेसबुकले डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट निलम्बन गरिदिएसँगै उनीहरुको सम्बन्ध निकै चिसिएको थियो । मेटाको उक्त कदम पश्चात् ट्रम्पले मेटाविरुद्ध वाकयुद्ध नै छेडे र सोही मार्च महिनामा फेसबुकलाई जनताको शत्रु करार गरे । साथै उनले अमेरिकी कम्पनीलाई बिक्री नगरेमा टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने कानूनले फेसबुकलाई अनुचित लाभ पुर्‍याउने बताए ।

    गत अगष्टमा रिपब्लिकन सांसदहरुलाई एक पत्र लेख्दै जुकरबर्गले कोरोना महामारीका बेला फेसबुक र इन्स्टाग्रामका केही सामग्रीहरुमाथि सेन्सर लगाउन बाइडेन प्रशासनसामु झुकेकोमा पश्चाताप व्यक्त गरेका थिए । सेप्टेम्बरमा प्रकाशित आफ्नो पुस्तकमा डोनाल्ड ट्रम्पले यदि सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने कोसिस गरेमा जुकरबर्गले आफ्नो बाँकी जीवन जेलमा बिताउनुपर्ने चेतावनी दिएका थिए । तर, राष्ट्रपतिमा निर्वाचित भएयता ट्रम्प जुकरबर्गप्रति नरम बनेका छन् ।

    अक्टोबरमा एक पडकास्टमा बोल्दै उनले मार्क जुकरबर्ग चुनावभन्दा बाहिरै रहनु राम्रो कुरा भएको भन्दै आफ्नो हत्या प्रयासपछि फोन गरेर हालखबर सोधेकोमा धन्यवाद पनि दिए । यद्यपि ट्रम्पको शुभारम्भ कोषलाई लाखौँ डलर आर्थिक सहायता प्रदान गरेतापनि ट्रम्पसँगको जुकरबर्गको निकटता अर्का प्रविधि टाइकुन एलन मस्क जत्तिको छैन । ट्रम्पको चुनावी अभियानमा व्यापक आर्थिक लगानीका कारण एलन मस्कलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक निकट व्यक्ति भन्न थालिएको छ ।

    जसका कारण मस्कले टम्प सरकारले गठन गर्ने सरकारी दक्षता विभाग  को प्रमुख बन्ने अवसर पाएका छन् । उता मस्क र जुकरबर्गबीच त्यस्तो कुनै निकटता तथा अन्तरक्रिया भएको छैन । यद्यपि विगतमा उनीहरुबीच एकपटक आपसमा कुस्ती खेल्ने विषयले निकै चर्चा पाएको थियो, जुन अहिले सेलाइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # जुकरबर्ग र ट्रम्पबीच
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology