Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८१ सोमवार • ०५:४२:१५ बजे
  • 634
    SHARES
  • दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो

    दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।

    images

    चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर उत्खनन थालेको थियो । त्यतिबेला सबैखाले पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउने उद्देश्य थियो । तर हालसम्मको अवस्थाले त्यहाँ प्राकृतिक ग्याँसको सकारात्मक संकेत देखिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद एवम् पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईंटेलले जानकारी दिए ।

    ‘चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा आइतबारसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै सिम्प्टम (संकेत) हरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ ।’ उनका अनुसार जमिन खन्दै जाँदा उपकरणले ग्याँस ‘डिटेक्ट’ गरेको छ । परियोजनाका अनुसार अहिलेसम्म जमिन मुनि ग्याँस छ कि छैन भनेर पत्ता लगाउनका लागि मात्र काम भइरहेको छ । ग्याँस रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गरिने छ । त्यसका लागि जमिन खन्दा निस्किएका चट्टानका नमूनाहरु संकलन गरिएको छ । त्यसलाई परीक्षण गर्न भने बाँकी छ ।

    ‘चट्टानका जुन नमूनाहरु छन्, तिनलाई परीक्षण गर्ने चरणमा छौं,’ भूगर्भविद लुईंटेलले भने, ‘त्यसको परीक्षणपछि व्यापारिक दृष्टिकोणबाट उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लाग्छ ।’ ड्रिलिङको काम सकिएपछि र ग्याँस रहेको पुष्टि भएपछि दोस्रो चरणमा ग्याँसको आयतन र गुणस्तर परीक्षण गरिने छ । त्यो परीक्षण पनि ड्रिल भइरहेकै स्थानमा हुने परियोजनाले जनाएको छ । दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिन मुनिबाट निस्किरहने ग्याँसमा आगो बल्ने गरेको छ ।

    ‘अखण्ड दीप’ बलिरहने शीरस्थान, नाभिस्थान लगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् । अहिले उत्खनन सुरु भएको स्थान पनि आन्तरिक पर्यटकको चासोको केन्द्र बनेको छ । सो क्षेत्रमा धेरै व्यक्तिहरु घुम्न र हेर्न आउने गरेको दैलेखको भैरवी गाउँपालिकाकी प्रमुख रिता कुमारी शाही बताउँछिन् ।

    ‘जिल्ला भित्रबाट, छिमेकी जिल्लाबाट र इण्डियाबाट समेत उत्खनन् भएको हेर्न, घुम्न आइराख्नु भएको छ,’ शाहीले भनिन् । उत्खनन् भएको क्षेत्रमा आफू पनि वेला–वेला पुगेर चासो दिने गरेको बताउँछिन् । ‘त्यहाँ जाँदा ग्याँसको गन्ध आउँछ,’ उनले भनिन्, ‘त्यहाँ काम गर्नेहरुले तीन तहमा ग्याँस रहेको संकेत देखिएको बताउनु भएको छ ।’ सो क्षेत्रमा तेल पनि हुन सक्ने अनुमानसहित उत्खनन् सुरु गरिएको थियो । उत्खननको काममा तीन दर्जन बढी प्राविधिक, भूगर्भविद र स्थानीय सक्रिय छन् ।

    अहिलेसम्म तेल नभई प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको भूगर्भविद लुईंटेलले बताए । उनका अनुसार २ हजार २ सय मिटर खन्दा नै ग्याँस रहेको संकेत देखिएको थियो । जति तल जाँदा पनि ग्याँस रहेको संकेत देखिएपछि उत्खनन् जारी राखिएको छ ।

    ‘अब करिब ५० मिटर मात्र खन्न बाँकी छ,’ परियोजनाका सूचना अधिकारी लुईंटेलले भने, ‘ड्रिलिङ सकिएपछि अध्ययन विश्लेषणको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौं ।’

  • सम्बन्धित विषय:

  • # सकारात्मक संकेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology