Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डढेलो सामू निरीह अमेरिका,शहरको ठूलो क्षेत्र जलेर खरानी

डढेलो सामू निरीह अमेरिका,शहरको ठूलो क्षेत्र जलेर खरानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०८१ शुक्रवार • ०५:०७:४७ बजे
  • 586
    SHARES
  • डढेलो सामू निरीह अमेरिका,शहरको ठूलो क्षेत्र जलेर खरानी

     विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ ।

    images

    प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेर नष्ट भएका छन् ।

    हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ । स्वीमिङ पुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास भने गरिएको छ ।

    आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर ७  पुगेको छ भने हजारौं व्यक्तिहरु विस्थापित भएका छन् । बीबीसीले कम्तिमा एक लाख जना व्यक्ति घर छाड्न बाध्य भएको जनाएको छ ।

    आगो १७ हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरुले बताएका छन् । हलिउड हिल्स पनि डढेलोको चपेटामा परेको छ । कयौं फिल्म स्टारहरुको घर पनि आगोमा जलेको छ ।

    डढेलोको विपत्तीका कारण ओस्कार अवार्डको नोमिनेसन पनि प्रभावित भएको छ । १७ जनवरीदेखि सुरु हुने भनिएको नोमिनेसन दुई दिनपछि सारिएको छ ।

    अमेरिकाको लसएन्जलसमा डढेलो बस्तीमा पसेर विपत्ती परेका बेला लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ ।

    किन भयानक भयो आगलागी ?

    बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् । पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा ।

    बीबीसीका पर्यावरण सम्वाददाता मेट म्याकग्राथका अनुसार क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले इन्धनको काम गरेको छ ।

     

    यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । तर एक दशकयता पनि यो क्षेत्रमा खतरनाक ढंगको हावा चलेको बीबीसीले जनाएको छ ।

    हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको बताइएको छ ।विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ ।

    अमेरिकाका जलवायु विज्ञहरुका अनुसार अझै पनि तीव्र हावा चल्ने सम्भावना रहेकाले आगो अझै फैलिने सम्भावना छ ।

    जलवायु अध्येता ड्यानियल स्वेनले सामाजिक सन्जालमा लेखेका छन्, ‘शहरी क्षेत्रमा अझै आगो फैलिने आशंका छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology