कुवेत - नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको महान सांस्कृतिक पर्व नयाँ बर्ष मन्जुश्री सम्बत २८६१ सोनाम ल्होछारको अवसरमा नेपालका चर्चित कलाकारहरू सुरेश लामा र सुमिना लो तामाङको साथमा मनाएको छ ।

कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा गत शुक्रवार डुल ल्हो राष्ट्रिय सोनाम ल्होछार तथा वृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । प्रवासमा रहेर पनि तामाङ समुदायको सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सो सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

अध्यक्ष पेमा लामाको अध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता साथै एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल लगायत कुवेतमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि , पत्रकार तथा उल्लेखनीय नेपाली दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम केशर घलान तामाङ, महासचिब युग लामा र कलाकार हिमाल लामाको सामुहिक संचालन रहेको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक दिल कुमार पाख्रीनले गरेका थिए । कार्यक्रममा अतिथि कलाकार र स्थानीय कलाकारहरुको सांगीतिक पस्तुति मार्फत उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रममा तामाङ समुदायको भेष-भुषामा सजिएर आफ्नो पहिचान र मौलिकता झल्काउने सेलो नाँच, डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।