कुवेत - संगीत, साहित्य र सद्भावको पर्व 'निरेम सांगीतिक उत्सव २०२५' भव्यरुपमा सम्पन्न भएको छ । चर्चित गायिका तृष्णा गुरुङ र गायक हिमाल सागरको प्रस्तुतिले जिलिबस्थित एस्पायर स्कुलको सभाहल गुन्जएमान भयो ।

निरेम प्रोडक्सनको दशौ वार्षिकोत्सवको अवसरमा 'ट्राफिक सचेतना तथा स्वदेशमा शिक्षामा सहयोगार्थ' आयोजना गरिएको निरेम सांगीतिक उत्सव २१ फेब्रुअरी २०२५ शुक्रवार गायिका गुरुङ र गायक सागरको सांगीतिक प्रस्तुतिले कुवेतको जिलिबमा रहेको एस्पायर इन्डियन स्कुलको सभाहल तातिएको हो ।

कार्यक्रममा गायिका गुरुङ र गायक सागरले आफ्नो सांगीतिक प्रस्तुति राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । गायिका गुरुङ र गायक सागरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै कुवेतको माहोल तताउनुभयो । त्यस्तै कवि तथा पत्रकार सुरेश बुढाथोकी 'फकिर' ले प्रवास बिशेष परदेशीको पीडालाई समेटेर कविता र गजल वाचन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिमा समेत दर्शक झुमेका थिए । कार्यक्रममा लामो समय देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका गायक डिबी लोप्चनको 'झकास' गितको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

प्रेम कुमार जिमीको अध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा लगायत कुवेतमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी , कलाकार, खेलाडी, पत्रकार साथै उल्लेखनीय नेपाली दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कुवेतको नेपाली समाजमा हुने हरेक कार्यक्रम तोकिएको समय भन्दा प्राय ढिलो गरि सुरु हुन्छ । यो कार्यक्रम पनि तोकिएको समयमा सुरु नभएता पनि कुवेतको नेपाली समाजमा हुने कार्यक्रम भन्दा फरक र नयाँ शैलीमा कार्यक्रम संचालन थियो । कार्यक्रम संचालन दिपेन्द्र निरौलाले गर्नु भएको थियो भने स्वागत मन्तव्य द्वारा जयनारायण थारुले उपस्थिति सबैलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको प्रायोजक तथा सहयोगीदाताहरु र कलाकारलाई सम्मान गरिएको थियो ।
फोटो - इन्द्र मगर