बेनी - जातीय भेदभाव तथा छुवाछूतविरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा जेठ २१ गते बुधबार देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सोही अवसरमा म्याग्दीको बेनीबजारमा पनि ‘जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणाको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरिने संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा हुने उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथिका रुपमा डा. यामबहादुर किसान आउने भएका छन । सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाट जातीय छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रस्ताव पारित गरेको थियो । त्यही दिनलाई आधार मान्दै त्यसयता हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत दिवस मनाउने गरिएको छ ।
जातीय छुवाछूत भेदभाव तथा छुवाछूतका पिडामा परेको समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । विभिन्न पक्षबाट जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी विद्यमान अवस्थाको गम्भीर समीक्षा र चुनौतीबारे छलफल गरिने आयोजकको भनाइ छ । ‘सम्पूर्ण दलितहरू एक हौँ’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्नका लागि आयोजकले सम्बन्धीत सबैलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।