बेनी - जातीय भेदभाव तथा छुवाछूतविरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा आज म्याग्दीको बेनीबजारमा ‘जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणाको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दी र सामाजिक विकास कार्यालय, म्याग्दीको संयुक्त आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पदम किसानको सभापतित्वमा सम्पन कार्यक्रममा डा. यामबहादुर किसानको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, शिक्षक, पत्रकार तथा दलित अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाट जातीय छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रस्ताव पारित गरेको थियो । तर समाजमा अहिले पनि जातीय विभेद उन्मूलनका लागि व्यवहारिक अभियान आवश्यक रहेको र राज्यले कानूनी मात्र नभई सामाजिक स्तरमा पनि रुपान्तरण ल्याउने खालका नीति ल्याउनु पर्ने धारणा डा. किसानले राखेका थिए ।

कार्यक्रममा जातीय छुवाछूत भेदभाव तथा छुवाछूतका पीडामा परेको समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाजको समस्या रहेको र सरोकारवालाले गरिनुपर्ने हस्तक्षेपका विषयमा वक्ताहरूले धारणा राखेका थिए ।
