एजेन्सी । कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारीकाबीच उत्तर कोरियाले शक्ति प्रदर्शनको तयारी गरेको छ । १० अक्टोबर अर्थात शनिबार सत्ताधारी वर्कस पार्टीको ७५औं बार्षिकोत्सव मनाउने क्रममा सर्वोच्च नेता किम जोङ उनले सैन्य परेडसहितको शक्ति प्रदर्शन गर्न लागेका हुन ।
यस पटकको सैन्य परेडमा यसअघिको भन्दा शक्तिशाली एवं लामो दुरीसम्म मार हान्न सक्ने मिसाइलको प्रदर्शन गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि हुन लागेको उत्तर कोरियाको शक्ति प्रदर्शनले दुवै देशबीचको सम्बन्धलाई प्रभावित पार्न सक्ने विश्लेषण गरिएको छ ।
परमाणु हतियार निर्माणलाई लिएर अमेरिका र उत्तर कोरियाबीच धेरै अघिदेखि तनावपूर्ण सम्बन्ध रहेको छ । त्यही कारण उत्तर कोरियाले अमेरिकाको कडा नाकाबन्दीको सामना गरिरहेको छ । कोरोना संक्रमणको विश्वब्यापी महामारी र आर्थिक प्रतिबन्धहरुका बावजुद किम जोङ उनले उत्तर कोरियालाई झनै शक्तिशाली तुल्याएका छन ।
संयुक्त राष्ट्र संघको एक रिपोर्ट अनुसार तमाम नाकाबन्दीले पनि उत्तर कोरियालाई रोक्न नसकेको र आफ्नो लक्ष्य पुरा गर्न किम जोङ उन निरन्तर लागिरहेका छन । अहिले उत्तर कोरियाले तीब्र गतिका साथ ब्यालेस्टिक मिसाइल कार्यक्रम अनुसार काम गरिरहेको छ ।
रिपोर्ट अनुसार उत्तर कोरियाले अर्को एक आणविक हतियार बनाइसकेको छ । यो बर्षको सुरुवातदेखि नै उत्तरले आणविक हतियार उत्पादनको काम सुरु गरेको थियो । पछिल्लो पटक राजधानी प्योङयाङमा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (ICBMs) देखिएपछि दक्षिण कोरियालीहरु त्रसित भएका छन ।
दक्षिण कोरियाली सरकारी अधिकारीहरुका अनुसार यो मिसाइल सन २०१७ मा परीक्षण गरिए भन्दा पनि अधिक शक्तिशाली छ । दक्षिणको सरकारी सुत्रका अनुसार किम जोङ उनले मिसाइलहरुलाई चार चार वटा मोबाइल लन्चरकासाथ शहरी क्षेत्रदेखि बाहिर अर्थात दक्षिण कोरियासंगको सीमा क्षेत्रमा तैनाथ गराएका छन ।
इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (ICBMs) को विकासमा उत्तर कोरियालाई विदेशी शक्तिको सहयोग रहेको विज्ञहरुले अनुमान गरेका छन । उत्तर कोरियाले अन्य मुलुकको सहयोग बिना मिसाईल बनाउन नसक्ने विज्ञहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।