Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोडसेडिङ हटाउने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयकै नेतृत्व

लोडसेडिङ हटाउने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयकै नेतृत्व

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०८२ सोमवार • ०५:१२:०२ बजे
  • 982
    SHARES
  • लोडसेडिङ हटाउने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयकै नेतृत्व

    प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी दिने भएकी छिन् ।

    images

    बालुवाटार निकट स्रोतले बताए अनुसार, घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको हो ।


    कुलमानसहित अन्य दुई मन्त्रीको सोमबारका लागि शपथ तय भएको छ । दुई कार्यकाल प्राधिकरणको नेतृत्वमा रहेका घिसिङलाई लोडसेडिङ अन्त्य गरेको जस दिइन्छ ।

     पहिलोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले मुलुकबाट लोडसेडिङ हटाउने कामको नेतृत्व गरेका थिए ।

    तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए । त्यसलगत्तकै तिहारमा काठमाडौंमा विद्युत कटौती नगरी उनले लोडसेडिङ अन्त्यको पहल थालेका थिए ।

    प्राधिकरणको प्रबन्ध निर्देशक हुनुअघि उनले चिलिमे जलविद्युत आयोजनाको नेतृत्वसमेत गरेका थिए । तर, देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन उनले लिएको पहलका कारण उनलाई नेपालीले उज्यालो नेपालका प्रतीकका रुपमा लिने गर्छन् ।

    प्राधिकरणको प्रबन्ध निर्देशकको रुपमा पहिलो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनुका अतिरिक्त लामो समयदेखि घाटामा रहेको संस्थानलाई नाफामा गरेर समेत प्रसंशा कमाएका थिए ।

    विद्युत् वितरण प्रणाली सुधार, पारदर्शी र प्रभावकारी व्यवस्थापन, बिजुली चोरीको न्यूनीकरण, र ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारका काम पनि उनले गरे ।

    तर, डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको तर महसुल नतिरेको भनेर उनले कार्यकालको अन्त्यतिर विभिन्न उद्योगलाई काटेको छुट बिलले उनलाई विवादित बनायो । खास कानूनी आधारविना काटिएका ती बिलको भुक्तानी हालसम्म पनि हुन सकेको छैन ।

    त्यस्तै, घिसिङ २७ साउन २०७८ मा दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस कार्यकालमा भने उनले देखाउन लायक कुनै उपलब्धि हासिल गर्न सकेनन् । आफूले पहिलो कार्यकालमा काटेको छुट बिलसम्बन्धी विवाद समाधानमा उनी यो कार्यकालमा पनि चुके ।

    यसअघिको केपी ओली सरकारले घिसिङलाई ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा उनी सर्वोच्च अदालत गए पनि उनलाई पुन:स्थापनाका लागि सर्वोच्चले आदेश दिएन ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology