Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हजारौं परिवार नरसंहारबाट बच्न घर छाड्दैछन् प्यालेस्टिनी

हजारौं परिवार नरसंहारबाट बच्न घर छाड्दैछन् प्यालेस्टिनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०८२ बुधवार • ०४:५३:५२ बजे
  • 643
    SHARES
  • हजारौं परिवार नरसंहारबाट बच्न घर छाड्दैछन् प्यालेस्टिनी

    इजरायली सेनाले गाजा सिटीमाथि नियन्त्रण जमाउने उद्देश्यले गरिएको ठूलो आक्रमणअन्तर्गत उसले स्थल अभियान सुरु गरिसकेको जनाएको छ । योसँगै हजारौं परिवार गाजा सिटी छोडिरहेका छन्।

    images

    बीबीसीका अनुसार, तीन सन्तानकी आमा समेत रहेकी सहरको शेख रदवान क्षेत्रकी बासिन्दा ३२ वर्षीया लीना अल-मगरेबीले खतरा हुँदाहुँदै पनि उनले पहिले आफ्नो घर छोड्न अस्वीकार गरेकी थिइन् ।

    तर उनलाई एक इजरायली अधिकारीले घर खाली गर्न आदेशसहित फोन आयो । त्यसपछि उनलाई आफ्नो घर छोड्नैपर्ने अवस्था आयो।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा सिटीमा एउटा ‘शक्तिशाली अभियान’ सुरु गरिएको बताएका छन्, जसलाई उनले हमासको अन्तिम प्रमुख गढ भनेका छन्।

     

    स्थानीय बासिन्दा बाहिर निस्कनका लागि इजरायली सेनाले केवल अल-रशीद तटीय सडकलाई मात्र अनुमति दिएको छ।

    धेरैले यस बाटोमा भीषण जाम भएको, गाडी र ट्रकहरूको लामो लाइन लागेको बताएका छन् । स्थानीय सञ्चारकर्मीहरूका अनुसार, मानिसहरू सडकछेउमै अल्झिएका छन् भने माथिबाट हवाई आक्रमण जारी छ।

     

    अल जजिराका अनुसार, इजरायली सेनाले गाजा सिटीमाथि दुई वर्षयता भएको युद्धकै सबैभन्दा भीषण आक्रमण गरेको छ। बम र गोली वर्षिँदा हजारौँ बासिन्दा घरबार छोडेर भागिरहेका छन्, फिर्ता कहिल्यै फर्कन नपाउने डरका बीच संयुक्त राष्ट्र महासचिवले यस आक्रमणलाई ‘भयानक’ भनेका छन्।

    ‘गाजा जलिरहेको छ,’ इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले एक्समा लेखेका छन् । फर्निचरले भरिएका भ्यान र गधाले तान्ने रथहरूको लामो लाइन, र आफ्नो अन्तिम सम्पत्ति बोकेर पैदल हिंडिरहेका मानिसहरूको भीड समुद्री तटसँगै पर्ने अल-रशीद सडकतर्फ अघि बढिरहेको देखिन्छ । पृष्ठभूमिमा सहर ध्वस्त पारेर उठिरहेको कालो धुवाँ देख्न सकिन्छ ।

    गाजा सिटी कब्जा योजनाको सुरुवाती दिनहरूमा धेरैले त्यहाँ रहने प्रतिज्ञा गरेका थिए। तर सैन्य आक्रमणको गतिको वृद्धि हुँदै जाँदा उच्च-भवन, घर र नागरिक संरचना ध्वस्त पारिँदा यात्रा खर्च धान्न सक्नेहरू दक्षिणतिर लागिरहेका छन्, जहाँ सुरक्षित क्षेत्र पाउने ग्यारेन्टी छैन।


    मंगलबार मात्रै सेनाले कम्तीमा ९१ जनाको हत्या गरेको छ । स्वास्थ्य अधिकारीहरूले भनेका छन्, सेनाको एउटा बम तटीय सडक हुँदै भाग्न लागिरहेका मानिसलाई बोकेको गाडीमाथि लागेको छ।

    कम्तीमा १७ वटा आवासीय भवन ध्वस्त भएका छन्, जसमा पूर्वी भागको तुफाह इलाकामा रहेको ऐबाकी मस्जिद पनि पर्छ, जसलाई इजरायली युद्धविमानले निशाना बनाएको थियो।

    बम वर्षिँदै गर्दा इजरायली सेनाले उत्तर, दक्षिण र पूर्वी भागमा पनि विस्फोटक पदार्थले भरिएका रोबोटहरू प्रयोग गरी क्षेत्रमा विनाश मच्चाइरहेको छ।

    यसै महिनाको सुरुमा अधिकार समूह युरो-मेड मोनिटरले इजरायली सेनाले यस्ता १५ वटा मेसिन परिचालन गरेको बताएको थियो । यसले प्रत्येकले २० वटासम्म आवासीय युनिट ध्वस्त पार्ने क्षमता राख्छ ।

     

    यसअघि नै, संयुक्त राष्ट्रको एउटा छानबिन इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध नरसंहार गरिरहेको स्पष्ट पारिसकेको छ ।

    हमाससँग युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय कानुनअनुसार परिभाषित पाँचमध्ये चार खालका नरसंहारका गतिविधि भएका छन्, जसलाई आधार मानेर इजरायल नरसंहार गरिरहेको निष्कर्ष निकाल्न सकिने राष्ट्रसंघको उक्त प्रतिवेदनमा भनिएको थियो ।

    यी गतिविधिमा समूहका मानिसहरूलाई मार्नु, शारीरिक वा मानसिक रूपमा गम्भीर क्षति पुर्‍याउनु, समूहलाई नष्ट गर्न जानाजानी अवस्था सिर्जना गर्नु र जन्म रोक्ने प्रयास गर्नु समावेश छन्।

    उक्त प्रतिवेदनमा इजरायली नेताहरूका अभिव्यक्ति र इजरायली सुरक्षाबलको कार्यशैलीलाई नरसंहार गर्ने इरादाका प्रमाणका रूपमा व्याख्या गरिएको थियो ।

    नरसंहार अन्तर्राष्ट्रिय कानुन अनुसार सबैभन्दा गम्भीर अपराध हो । यसको विश्वव्यापी विरोध भइरहेको छ तर इजरायलले यस्तो नरसंहारलाई थप अगाडि बढाइरहेको छ ।

    -एजेन्सीहरूको सहयोगमा

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology