कुवेत - तमू समाज कुवेतले तमू समुदायको राष्ट्रिय पर्व 'त ल्हो – तमू ल्होछार/ल्होसार २०८२' अतिथि कलाकार जिदान गुरुङको साथमा मनाउने भएको छ ।
प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन हवालीस्थित बोईज स्काउट थिएटरमा मनाउने तयारी गरेको हो ।
तमू (गुरुङ) समुदायको परम्परागत वर्ग–चक्रअनुसार यस वर्ष ‘सप्री ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गरी ‘त ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्दै ल्होछार/ ल्होसार उत्सवको आयोजना गरिने कार्यक्रमलाई अझ आकर्षक तथा मनोरञ्जनपूर्ण बनाउन नेपाल आइडल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धी तथा नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बहुप्रतिभाशाली गायक जिदान गुरुङ विशेष अतिथि कलाकारका रूपमा कुवेत आउने भएका छन । साथै समाजका स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिने तयारी अन्तिम चरणमा पुगेको समाजकी अध्यक्ष रञ्जना गुरुङले जानकारी दिएकी छन्। उक्त कार्यक्रममा प्रवेश निशुल्क रहने आयोजकले बताएको छ ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।