Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान

युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०८२ बुधवार • ०५:४७:१७ बजे
  • 667
    SHARES
  • युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान

     छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्।

    images

    यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर दुर्घटनामा परेकी थिइन्। काम गर्ने क्रममा उनको कपाल मेसिनमा अल्झिँदा उनको बायाँ कान चुँडिनुका साथै टाउकोको छाला र अनुहारको केही भागसमेतमा चोट लागेको थियो। दुर्घटनामा उनको ज्यान जोगिएपनि उनको उपचारमा जटिल शल्यक्रियाको आवश्यकता परेको थियो।


    दुर्घटनापछि चिकित्सकहरूले जाँच गर्दा चुँडिएको कानमा रक्तसञ्चार गराउने नलीहरू गम्भीर रूपमा क्षतिग्रस्त भएकाले तुरुन्तै त्यो कानलाई टाउकोमा जोड्न नसकिने निष्कर्ष निकाले। त्यसैले त्यसको सफल प्रत्यारोपणका लागि उक्त कानलाई पुनः स्वस्थ बनाउनु आवश्यक ठहरियो।

    त्यसका लागि चिकित्सकहरूले महिलाको पाइतालाको माथिल्लो भागलाई सो कान राख्नका लागि सबैभन्दा उपयुक्त स्थान माने। त्यहाँको छाला पातलो हुनुका साथै रक्तनलीहरूको आकार कानका रक्तनलीसँग मिल्दोजुल्दो थियो जसले प्रत्यारोपण सहज बनाउँथ्यो।


    १० घण्टाको जटिल शल्यक्रिया

    कानभित्रका रक्तनलीहरू अत्यन्तै साना अर्थात् ०.२ देखि ०.३ मिलिमिटरसम्मका हुने भएकाले शल्यक्रिया निकै चुनौतीपूर्ण थियो। चिकित्सकहरूको टोलीले करिब १० घण्टासम्म मानव कपालभन्दा पनि पातलो सुई र धागो प्रयोग गरेर प्रत्येक रक्तनली सिउने काम गर्‍यो।

    सुरुका केही दिन निकै संवेदनशील रहे । किनकि रक्तप्रवाह पूर्ण रूपमा सहज थिएन। तर चिकित्सकहरूको प्रयासले प्रत्यारोपण सफल भयो कानमा बिस्तारै स्वस्थ गुलाबी रङ फर्कियो।

    पाँच महिना खुट्टामै कान

    दुर्घटनामा कान चुँडिएको पाँच महिनासम्म ती महिलाले आफ्नो बायाँ कान खुट्टाको पञ्जामै राखेर दैनिकी बिताइन्। बाहिर निस्कँदा उनले खुकुला जुत्ता मात्र लगाइन् ताकि कानमा दबाब नपरोस्। रक्तसञ्चार राम्रो होस् भनेर उनी हल्का गतिमा मात्र हिँड्थिन्। यस अवधिमा टाउकोको प्रत्यारोपित छालासमेत बिस्तारै टाँसिँदै निको हुँदै गयो।

    गत अक्टोबर महिनामा चिकित्सकहरूको टोलीले कानलाई पुनः टाउकोमै जोड्ने अन्तिम प्रयास गर्‍यो। तर त्यो प्रक्रिया झन् जटिल बन्यो। टाउकोको छालामा रहेका रक्तनली र स्नायुहरू मोडिएका र विकृत भएकाले चिकित्सकहरूले माइक्रोस्कोप प्रयोग गरी तह तहमा तन्तुहरु काट्दै प्रयोगयोग्य रक्तनली र स्नायु खोज्नुपर्‍यो।

    अन्ततः पाँच महिनाको पीडा र धैर्यपछि ती महिलाको बायाँ कान आफ्नै स्थानमा सफलतापूर्वक पुनः जडान भयो। चिकित्सकीय दृष्टिले यो घटना दुर्लभ मात्र होइन आधुनिक प्रत्यारोपण शल्यक्रियाको उल्लेखनीय उपलब्धि मानिएको छ। एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # चुँडिएको आफ्नो कान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology