इजरायलले सिरिया–लेबनान सीमामा रहेका चारवटा नाकामा हवाई आक्रमण गरेको छ । यी नाकाहरूलाई हिजबुल्लाहले हतियार तस्करी गर्न प्रयोग गर्दै आएको दाबी इजरायली सेनाको छ । यसअघि बिहान दक्षिण लेबनानमा गरिएका इजरायली आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने करिब २० जना घाइते भएका थिए ।
सन् २०२४ मा अमेरिका मध्यस्थतामा भएको युद्धविराम लागू भइरहेकै अवस्थामा इजरायलले पटक–पटक आक्रमण जारी राखेको लेबनानी पक्षको आरोप छ । बसोबास भएका गाउँहरूमा हवाई हमला गरेर इजरायलले नागरिकलाई लक्षित गरेको र यो खतरनाक उक्साहट भएको लेबनानका राष्ट्रपति जोसेफ औनले बताएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर कनारितमा भएको हवाई आक्रमणमा १९ जना घाइते भएका छन् । एएफपीका पत्रकारसमेत उक्त आक्रमणमा सामान्य घाइते भएका छन् ।
हतियार स्थानान्तरण रोक्न चार सीमा नाकामा हमला गरेको र सिदोन क्षेत्रमा हिजबुल्लाहका एक जना मुुख्य हतियार तस्कर मारिएको दाबी इजरायली सेनाले गरेको छ । यी आक्रमणले लेबनानको सार्वभौमिकता र युद्धविराम सम्झौताको खुला उल्लङ्घन भएको लेबनानी सेनाले भनेको छ ।