आश्विन २६, २०७७ सोमवार
•
१२:०५:४५ बजे
कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ३० भन्दा बढी स्थानीय नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस मादी ६ इकाईको आयोजनामा शनिबार तप्राङमा भएको कार्यक्रममा वर्तमान नेकपा सरकारले जनताको आवाज सुन्न नसकेको भन्दै आजित भई नेपाली काँग्रेस प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।
नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कास्की काँग्रेसका पुर्व सभापति तथा पुर्व मन्त्री यज्ञ बहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतका नेताहरुले टिका र खादा लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पुर्वमन्त्री थापाले तिनै तहको सरकारको नेतृत्व नेकपाले गरेको अवस्थामा पनि नेपाली काँग्रेसमा यसरी एक जमात नै प्रवेश गर्नु भनेको नेकपा सरकार संग जनता खुशी नहुनुको बलियो प्रमाण भएको बताउनुभयो । उहाँले भन्नुभयो "जनताको आवाज सुन्न नसक्ने पार्टी कहिले पनि जनताको हुन सक्दैन, तपाँईहरुले काँग्रेसलाई विश्वास गर्नुभएको छ, जसलाई हामी कहिले पनि डगमगाउन दिने छैनौ" ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले जनताको पार्टी भनिने नेकपाले अहिले आएर जनताको आवाज दबाउने, पाउदै आएको सेवा कटौती गर्ने जस्ता काम गरेको आरोप लगाउदै अपांग, वृद्धहरुले पाउदै आएको भत्ता कटाएर नेकपा सरकारले आफ्ना जनताको सेवा गर्न आएका जनप्रतिनिधिको सेवा सुविधा बढाउने काम गरेको बताउनु भयो । उहाँले चुनाव जुन सुकै पार्टीले जितेको भएपनि सरकार भोट दिने र नदिने सबैको हुन सक्नुपर्नेमा नेकपा सरकार जनतामुखी नभई कार्यकर्तामुखी बनेको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराई, महाधिवेशन प्रतिनिधि गिरीराज गौतम, महाधिवेशन प्रतिनिधि किशोर दत्त बराल, जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङ, तरुण दल कास्की उपाध्यक्ष दिपक गुरुङ'माईला', मादी गाउँपालिका सभापति देवी जङ गुरुङ, युवा नेता अर्जुन गुरुङ, जिल्ला सदस्य प्रेम तामाङ, युवा नेताहरु देवी जङ गुरुङ, मन बहादुर नेपाली लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै स्वैच्छिक तरिकाले पार्टी प्रवेश गरेकाहरुको रक्षा कवच नेपाली काँग्रेस हुने र कसैको डर धम्कीसंग नडगमगाउन अपिल गर्नुभयो ।
काँग्रेस मादी ६ को आयोजनामा इकाई सभापति भिम प्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत युवा नेता विशाल गुरुङले र संचालन युवा नेता सन्तोष गुरुङले गर्नुभएको थियो ।
रेडियो गोर्खाली १०६ मेगाहर्जबाट साभार