आश्विन २६, २०७७ सोमवार
•
१६:२६:५८ बजे
राम चन्द्र तिम्सिना
(आवाज)
दिनानुदिन बढ्दैछन्
सहिदका लाईनहरु
जन्मेको दिन
सहिद बन्यो
न्वारन पास्नी
बोलेको पहिलो बोली
सहिद बन्यो !!
ओठे प्यारहरु
चुमिएका चुम्माहरु
क्रमश ,
सहिद बनिरहे ......
ममतामयी स्तन चुस्ने सोच
माटोमा लडीबुडी गर्दै
बेलुका मीठो निद्राका
अनगिन्ती सपनाहरु
पूर्ण सुख को अनुभव मा रम्ने
बुज्रुकपनमा सबैसामु जम्ने
धरातलमा स्वतन्त्रता खोज्ने
यी आकांक्षाका बाढीहरु समेत
सहिद बनिरहे ...
आफूमात्र होईन,
मेरो पहिलो दृश्य को आकाश
खोला नाला, पाखा, पखेरा
चरीको चिर्विरताको पहिलो अनुभव
अझै भनौं क्षितिजको पहिलो दृश्य
यी पनि सहिद बने ....
गड्गडाहट मेघ गर्जन
घुमिरहेको ब्रह्माण्ड
चलिरहेको पृथ्वी
अघिसम्मका मर्मस्पर्शी बतास
र सोचेका प्रेमील आशहरु
पनि सहिद बनिरहे .....
सहिद आफू मर्दैन
ऊ आफैं मर्न चाहन्छ
त्यसैले पनि होला
म भित्रका शारीरिक सुक्ष्म अवयवहरु,
पलपल सहिद बनिरहेछन् !!
मन्दिर मा फालिएको
फूल सहिद बन्यो
मैले लेखेका प्रेमका अनगिन्ती
पत्रहरु सहिद बन्यो
लेखिएका हरेक शब्द र
मसिका थोपाहरु सहिद !
अकस्मात् ....
हिजोको मेरो लक्ष्य आज सहिद बन्दैछन,
मैले टेकेको माटो सहिद बन्दैछन,
बगाएका पसिना सहिद बन्दैछन् ,
मेरो कामवासका लोभहरु
चिटिक्क परेर नजरमा बस्न खोज्ने
प्रेमीकाका नजरहरु,
जानी नजानी गरिएका पाप र पुण्यहरु
जान-अन्जानमा सहिद नै बनिरहेछन् !!
अन्त्यमा .....
ब्रह्माण्डका कणहरु
दिनानुदिन सहिद बनिरहेछन्
बृक्षहरु भोग सकिएर
सहिद बनिरहेछन्
केही क्षणमा
मात्रै केही क्षणमा
यी अक्षरहरु सहिद बन्नेछन्
अरु त अरु के भनुँ
मैले अहिले भर्खर लिएको
सासहरु नै सहिद बनिरहेछन् ,
केवल एकछिन जिएर त हेर यहाँ ,
प्रत्येक पल सहिद बनिरहेछन् !!
सहिद बनिरहेछन् .....
(साथी सन्दिप सुवेदिको सहयोगमा)