Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८३ बुधवार • ०६:०९:०३ बजे
  • 208
    SHARES
  • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

    धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडे।

    images

    अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै बस्न थालेका हुन् । “भारतीय गोर्खा सैनिकमा भर्ती हुनका लागि छनोट भएर पनि अभिभावकको आग्रह नकार्न नसकेर भैँसी पाल्न जङ्गल पसेको थिएँ”, पूर्णबहादुरले भने “बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिन थालेपछि गोठ बस्न नसक्ने भएकाले भैँसी बेचेर घरमै बस्न थालेको छु ।”

    पूर्णबहादुरले भैँसी, राँगा र घ्यू बेचेर एक छोरा र तीन छोरी हुर्काएका, उच्च शिक्षा दिलाएका, घरव्यवहार चलाएको र गाउँमै खेतबारी जोडेका सुनाए। “एउटा भैँसीबाट सुरु गरेको घुम्ती गोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, उनले भने, “राँगा, भैँसी र घ्यू बेचेरै घरव्यवहार चलाएको हो ।”


    नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि दुःख गर्नुपर्ने भएका कारण घुम्ती गोठमा भैँसीपालन गर्ने चलन हराउन थालेको पूर्णबहादुरले बताए।


    धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय कीर्तबहादुर घर्तीमगरले ६४ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे । स्वास्थ्यमा समस्या देखिएपछि कीर्तबहादुरले आठ वर्षको बाल्यकालको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेसालाई बिट मारेको १० वर्ष भएको छ ।


    “मेरो बाल्यकालमा गाईभैँसीको गोठ नहुने घरै हुँदैनथे”, कीर्तबहादुरले भने “अहिले भएका दुईचारवटा गोठ पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ ।” केही दिनअघि समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानस्थित घुम्ती गोठमा भेटिएका कीर्तबहादुरले घुम्तीगोठका अनुभवहरू खुलेर सुनाए ।


    “अहिले विदेशमा गएको जस्तै हो त्यसबेला गोठमा जानु भनेको”, उनले सम्झिए “झरीबादल नभनी लेक र बेँसीका भिरपहरा, जङ्गलमा गोठ सार्ने हामीहरू हिउँदमा गाउँ नजिकको खेतबारीमा आउँदा घरपरिवारसँग भेट हुन्थ्यो । बर्खामा तीनचार महिना कसैसँग सम्पर्क हुँदैनथ्यो ।”


    खाम्ला, खारा, बगर, जेल्तुङ, नाउरा, चौरवन, कुनावन, मचनी, दवदवे, मैरेवन, भैँसीखर्क, जिरवाङलगायत चरन क्षेत्रहरूमा भैँसीको घुम्ती गोठ लैजाने चलन थियो । पोषिलो घाँस पाइने भएकाले भैँसी पाँच हजार मिटर उचाइका बुकीमा चरनका लागि आफैँ पुग्ने गरेको अनुभव पूर्णबहादुर र कीर्तबहादुरले सुनाए ।

    बीस वटाको हाराहारीमा भैँसी पाल्दा वार्षिक १० देखि १५ वटासम्म राँगाभैँसी र २०० लिटरको हाराहारीमा घ्यू बिक्री हुने गरेको थियो । यस क्षेत्रका किसानले पाल्दै आएको लिमे र पारकोटे जातको भैँसीको आनुवांशिक स्रोत घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ ।

    धवलागिरि गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार वडा नं ४ मा हाल भैँसीको सङ्ख्या ४३६ वटा रहेको छ । पशुमा पूर्णखोप कार्यक्रमका क्रममा वार्षिक रूपमा लिने तथ्याङ्कअनुसार गाईभैँसीको सङ्ख्या घट्दो क्रममा रहेको उनले बताए ।

    परम्परागत हिसाबले घुम्ती गोठमा पशुपालन गर्दै आएका किसानले फार्म दर्ता र पशु बीमा नगरेका कारण विभिन्न महामारी रोगविरुद्धको खोप उपलब्ध गराए पनि अनुदानका कार्यक्रममा समेट्न समस्या भएको उनको भनाइ छ ।

    धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले घुम्ती गोठलाई आधुनिक र व्यवस्थित गर्न किसानसँग छलफल गरेर उनीहरूको आवश्यकताअनुसारका कार्यक्रम बनाएर समेट्ने प्रयास गरिएको जानकारी दिए । घुम्ती गोठका लागि त्रिपाल, सोलारलगायत सामग्री उपलब्ध गराएको बताउँदै उनले फरक दङ्गले घुम्ती गोठलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा रोजगारी सृजना र आयआर्जन वृद्धिको सम्भावना रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # भैँसी पाल्ने चलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology