कुवेतमा सुरक्षा निकायले मदिरा नियन्त्रणमा कडाइ गर्दै आएको छ । उक्त गतिविधिमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन सख्त मनाही भए तापनी अवैध तरिकाले यो कार्यमा लाग्ने व्यक्तिहरु धमाधम पक्राउ पर्दै आएका छन । त्यस्तै सुरक्षा निकायले अन्य अवैध गतिविधि नियन्त्रणमा पनि कडाइ गर्दै आएको छ ।
कुवेतको आन्तरिक मन्त्रालयले मे ६, २०२६ मा हवाल्ली गभर्नोरेटमा सञ्चालित सुरक्षा अपरेशनको क्रममा हवाल्ली सुरक्षा निर्देशनालयको गस्ती टोलीले नियमित गस्तीका क्रममा बत्ती बिना अँध्यारोमा पार्क गरिएको एउटा शंकास्पद गाडी फेला पारेको थियो। सुरक्षा अधिकारीहरू नजिक पुग्दा चालकले भाग्ने प्रयास गरे पनि प्रहरीले गाडीलाई रोक्न सफल भएको थियो ।
पक्राउ गर्ने क्रममा चालक र उनका साथी दुवैले प्रतिरोध गरेका थिए, तर सुरक्षा बलले उनीहरूलाई नियन्त्रणमा लिएर हथकडी लगाएको थियो । गाडीको खानतलासी गर्दा ८५ बोतल आयातित रक्सी र ४,७१० कुवेती दिनार नगद बरामद गरिएको छ । सोधपुछका क्रममा संदिग्धहरूले रक्सीको अवैध व्यापारमा संलग्न रहेको स्वीकार गरेका छन् ।
अनुसन्धानबाट चालक विरुद्ध पहिले नै पक्राउ पुर्जी (Warrant) जारी भइसकेको र उनी कानुनद्वारा खोजिएको व्यक्ति भएको पुष्टि भएको छ । बरामद गरिएका सामानसहित दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
कुवेतको गृह मन्त्रालयले 'Security Operations' मार्फत मदिराको भण्डारण, उत्पादन र बिक्री वितरण तथा अन्य अवैध कार्य गर्नेमाथि निगरानी बढाएको छ । उक्त अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई सामान्यतया देशनिकाला (Deportation) र आजीवन कुवेत प्रवेशमा प्रतिबन्ध लगाउने गरिन्छ ।
यस्ता अवैध गतिविधिमा संलग्न हुँदा आफ्नो रोजगारी र परिवारको भविष्य दुवै समाप्त हुन सक्ने भएकाले कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यो कार्यबाट टाढा रहने अपेक्षा गरिएको छ ।