कुवेत - गृह मन्त्रालय (MOI) ले लागूऔषध कारोबार विरुद्धको अभियान अन्तर्गत दुई नेपाली सहित ११ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
कुवेतको अपराधिक सुरक्षा क्षेत्र अन्तर्गतको लागूऔषध नियन्त्रण महानिर्देशनालयले चलाएको कारबाहीमा ठूलो मात्रामा प्रतिबन्धित पदार्थ, हतियार र मदिरा बरामद गरिएको छ । उक्त कारबाहीमा पक्राउ पर्नेहरू विभिन्न देशका नागरिकहरू नेपाली २ जना, कुवेती २ जना, बङ्गलादेशी २ जना, इजिप्टियन १ जना, भारतीय १ जना र बदुन (विना नागरिकताका स्थानीय) ३ जना रहेका छन ।
सुरक्षाकर्मीहरूले खानतलासीका क्रममा अवैध सामानहरू जफत गरेका छन । सुरक्षा अधिकारीले पक्राउ परेका व्यक्तिहरुबाट लागूऔषध १५० ग्राम तरल आइस (शाबु), ४३ ग्राम मेथाम्फेटामाइन, ४१ ग्राम गाँजा (हसिस), र २ ग्राम गाँजाका चुरोट प्राप्त गरेको थियो । त्यस्तै ८० ग्राम र २१० क्याप्सुल लिरिका, २०२ ग्राम हेरोइन, १ ग्राम कोकिन, ७० एमएल सिन्थेटिक केमिकल, र ५०७ चक्की क्याप्टागन प्रतिबन्धित चक्की तथा रसायन प्राप्त गरेको थियो । त्यसैगरी ६ बोतल तयारी रक्सी र ३ वटा मदिरा बनाउने ठूला भाँडाहरू साथै १ थान बन्दुक, ३९ राउन्ड गोली, र १ थान म्यागजिन एवम् २ थान डिजिटल तराजु र लागूऔषध बिक्रीबाट आर्जन गरिएको अनुमान गरिएको २९० कुवेती दिनार नगद प्राप्त गरेको थियो ।
सुरक्षा अधिकारीले पक्राउ परेका ११ जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित सरकारी निकायमा पठाइएको छ । कुवेतको गृह मन्त्रालयले देशमा लागूऔषध भित्र्याउने र यसको अवैध कारोबार गर्नेहरू विरुद्धको कडा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।कुवेतमा सुरक्षा कारबाही तीव्र: २ नेपालीसहित ११ जना गैरकानूनी धन्दामा लागेको आरोपमा पक्राउ