बहराइनको रक्षा बलले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा मिसाइल र कयौँ ड्रोनहरूलाई बीचैमा रोकेर सफलतापूर्वक नष्ट गरेको दाबी गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै बहराइनले छिमेकी देश इरानमाथि नागरिक सुविधाहरूलाई निशाना बनाएर "व्यवस्थित शत्रुतापूर्ण दृष्टिकोण" जारी राखेको गम्भीर आरोप लगाएको हो।
बहराइन सैन्य बलको जनरल कमाण्डका अनुसार सम्भावित ठूलो क्षतिलाई टार्न सैन्य प्रणालीले समयमै ती क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै ध्वस्त पारेका थिए।
आक्रमणको प्रयासपछि बहराइनले आफ्नो सुरक्षा व्यवस्थालाई कडा पारेको छ। जनरल कमाण्डले देशको सार्वभौमिकता र नागरिकको रक्षाका लागि सबै सैन्य एकाइहरूलाई उच्च सतर्कता (Highest levels of readiness) र रक्षात्मक तयारीको अवस्थामा राखिएको जनाएको छ।
बहराइन सरकारले आफ्ना नागरिक तथा देशमा बसोबास गरिरहेका विदेशी बासिन्दाहरूका लागि विशेष चेतावनी जारी गरेको छ। मिसाइल र ड्रोनहरू ध्वस्त पारिएका कारण तिनका अवशेष वा अन्य शंकास्पद वस्तुहरू जमिनमा खसेको हुन सक्ने भन्दै सेनाले त्यस्ता अपरिचित वस्तुहरूको नजिक नजान र तिनलाई नछुन आग्रह गरेको छ।
साथै, कुनै पनि शंकास्पद वस्तु फेला परेमा तुरुन्तै नजिकैको सुरक्षा निकाय वा सम्बन्धित अधिकारीहरूलाई खबर गर्न सर्वसाधारणलाई सूचित गरिएको छ। इरानले भने यस आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।