कुवेत – कुवेतमा क्रियाशील सामाजिक संस्था खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो १६औं वार्षिकोत्सव तथा ७औं अधिवेशन आगामी सेप्टेम्बर २५ तारिख चर्चित कलाकारका साथमा भव्य रूपमा मनाउने घोषणा गरेको छ।
संस्थाको हालै सम्पन्न २६औं मासिक बैठकले आगामी सन् २०२६ सेप्टेम्बर २५ का दिन उक्त विशेष कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। कुवेतस्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले उक्त मिति तय गरेको हो।
मञ्चले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको उपलक्ष्यमा यस पटकको वार्षिकोत्सव र अधिवेशनलाई विशेष बनाउने तयारी थालेको छ। प्राप्त जानकारी अनुसार कार्यक्रम सो दिन बिहान १० बजेबाट सुरु हुनेछ। कार्यक्रम आयोजना गरिने निश्चित स्थान र कलाकार भने संस्थाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
सस्थाले कुवेतमा रहेका अन्य सम्पूर्ण नेपाली संघ–संस्थाहरूलाई उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिन हार्दिक अनुरोध गरेको छ। "कुवेतमा क्रियाशील सबै नेपाली संस्थाहरूबीच आपसी समन्वय र सहयोगको भावना रहोस् भन्ने हाम्रो चाहना हो," बैठकमा अध्यक्ष भट्टराईले भन्नुभयो, "त्यसैले सो दिन कार्यक्रम नजुधाई हाम्रो अधिवेशन र वार्षिकोत्सवलाई सफल पार्न सहयोग गरिदिनुहुन हामी सबैमा अपिल गर्दछौँ।"
यसका साथै आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन र कार्यक्रमलाई भव्य रूपमा सफल पार्न विनम्र अनुरोध गरेको छ।
खोटाङ कुवेत सम्पर्क मञ्चले विगत लामो समयदेखि कुवेतमा रहेका खोटांगेली लगायत सम्पूर्ण नेपालीहरूको हकहित र सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको आगामी कार्यदिशा समेत तय गर्ने अपेक्षा गरिएको छ।