कुवेतमा कार्यरत तमू (गुरुङ) हरूको साझा सामाजिक संस्था तमू समाज कुवेतले तमू समुदायको महान् राष्ट्रिय तथा सांस्कृतिक पर्व तमू ल्होछार आगामी जनवरी १ मा भव्य रूपमा मनाउने भएको छ। ल्होछार पर्वको दिन अन्य सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू नजुधाइदिन समाजले कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरूलाई अग्रिम अनुरोध गरेको छ।
“गुरुङ जातिको मौलिक पहिचान, जातीय उत्थान र एकताका निम्ति सम्पूर्ण तमू एक हौँ” भन्ने मूल नाराका साथ कुवेतमा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएको तमू समाज कुवेतले यस वर्षको ल्होछारलाई विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाउने तयारी गरिरहेको छ। यस वर्षको ल्होछार पर्वलाई विशेष र भव्य बनाउन तीव्र रूपमा तयारी भइरहेको जानकारी समाजकी अध्यक्ष रञ्जना गुरुङले दिनुभएको छ।
तमू (गुरुङ) समुदायको परम्परागत 'ल्हो कोर' (वर्ग चक्र) अनुसार हरेक वर्षको पौष १५ गते पुरानो ल्होको अवधि समाप्त भई नयाँ ल्होको सुरुवात हुने जनविश्वास रहेको छ। सोही परम्परा अनुसार यस वर्ष ‘त’ ल्हो (घोडा वर्ग) को समय अवधि समाप्त भई ‘ल्हु’ ल्हो (भेडा वर्ग) को सुरुवात हुने भएकाले नयाँ ल्होलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ।
ल्होछारको पावन अवसरमा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने, गुरुङ समुदायको मौलिक सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत गर्ने र परम्परागत खेलकुद मार्फत मनोरञ्जन लिँदै आपसमा खुसी साटासाट गर्ने गरिन्छ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक परम्परा, संस्कृति, पहिचान र सामाजिक एकतालाई निरन्तरता दिने उद्देश्यले आयोजना गर्न लागिएको यो पर्व तमू समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ। उक्त दिन कुवेतमा रहेका अन्य कुनै पनि संघ-संस्थाले कार्यक्रम आयोजना गर्दा जुध्न सक्ने भएकाले, आपसी सौहार्दता र सहकार्य कायम राख्नका लागि तमू समाज कुवेतले अन्य कुनै कार्यक्रम नराखिदिन सबैमा हार्दिक अपिल गरेको छ।