Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाग्लुङ जैमिनीका ७१ वर्षीय मोहराज उपाध्याय जसले २५ वर्ष देखी निरन्तर मौरीपालन

बाग्लुङ जैमिनीका ७१ वर्षीय मोहराज उपाध्याय जसले २५ वर्ष देखी निरन्तर मौरीपालन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • ११:०३:०९ बजे
  • 3.8K
    SHARES
  • बाग्लुङ जैमिनीका ७१ वर्षीय मोहराज उपाध्याय जसले २५ वर्ष देखी निरन्तर मौरीपालन
    बागलुङको जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका किसान मोहराज उपाध्यायले सञ्चालन गरेको मौरीपालन उद्योग । उद्योगमा दुई सय घार मौरी छन् । वर्षमा १२ सय किलोसम्म मह उत्पादन हुन्छ । तस्वीर : रामबहादुर थापा/रासस

    बाग्लुङ- जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उहाँको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उहाँको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।

    उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताउनसभयो । “मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ”, उहाँले भन्नुभयो । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उहाँको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।

    उपाध्यायको उद्योगमा वार्षिक एक हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु पाँच हजार ५०० छ । “बजारको कुनै समस्या छैन, बरु मह पुर्याउनै सकिएको छैन”, उपाध्यायले भन्नुभयो । उहाँका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार/पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उहाँले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आउनुभएको छ । बाहिरी जिल्लाबाट समेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिनुहुन्छ ।

    विसं २०४५ ताका काठमाडौँ चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिनुभएका उपाध्यायले भन्नुभयो, “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।” मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उहाँ ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसक्नुभएको छ । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उहाँको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो ।

    सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उहाँलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उहाँले बताउनुभयो । “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उहाँले भन्नुभयो । उपाध्यायको घर–व्यवहार मह/मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोड्नुभएको छ । उहाँलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् ।

    जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह/गोला बेच्ने प्रबन्ध मिलाउनुहुन्छ । घरमै रहनुभएकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खट्नुहुन्छ । “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भन्नुभयो, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।”

    उहाँले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । “परिवारलाई कहिल्यै अभावमा राख्नु भएन, त्यतिका वर्षअघि बुवाले शुरु गर्नुभएको मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ”, खिराले भन्नुभयो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology