काठमाडौं आएका कर्णालीका नेताहरु शीर्ष नेताको निर्णय कुरेर बसिरहेका छन् । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको भेटवार्तामा पनि सहमति हुन सकेन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्ताव फेस गरेर अगाडि बढ्ने तयारी गरेका छन् । कर्णालीबाट काठमाडौं आएका शाही पक्षका एक नेताले भने, ‘अहिलेसम्म कुनै निर्णय भएन । उहाँहरुले फिर्ता लिनु भएन भने, अब ७ गते नै अविश्वासको प्रस्ताव फेस गरेर जाने हुन्छ ।’
नेकपा कर्णालीकी मुख्यसचेतक सीता नेपालीले छलफल भए पनि आफूहरु निष्कर्षमा नपुगेको बताइन् । उनले काठमाडौंबाट संसदीय दलका नेतालगायतका नेताहरु फर्किएपछि के गर्ने भन्ने टुंगो लाग्ने जानकारी दिइन् ।
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका यामलाल कंडेल समूहले पनि दर्ता भएको प्रस्ताव फिर्ता नलिने अडान लिएको छ । सुरुमा मुख्यमन्त्री शाहीविरुद्ध बहुमत जुटाएका कंडेल अल्पमतमा परिसकेका छन् ।
आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड निकट शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन् । उक्त सहमति अनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ । नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ ।