कार्तिक १५, २०७७ शनिवार
•
१८:५०:३० बजे
कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन्।
अहिले उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ। होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्याइयो। तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए। तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो।
अस्पतालले आइसीयुमा भए पनि विश्वकर्माको स्वास्थ्य स्थिति स्थीर रहेको बताउँदै आएको थियो।अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले विश्वकर्माको उपचारका लागि आफूहरुले सम्पूर्ण विधि प्रयोग गरिसकेका बताएका छन्।डा. पाण्डेका अनुसार शनिबार दिउँसो भने उनको स्वास्थ्य स्थिति खस्किँदै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ।
‘केही दिनदेखि उहाँको स्वास्थ्य स्थिति अपठ्यारो नै थियो। भेन्टिलेटरमा जाला कि भन्ने डर थियो हामीलाई। पहिला पनि सामान्य अक्सिजन दिएर राखिएको थियो। उहाँलाई हामीले रेमडेसिभिर लगायत कोरोना भाइरसको उपचारका लागि सम्भावित सबै औषधीको प्रयोग गरिरसकेका छौँ। उहाँको स्वास्थ्य स्थिति स्थीर थियो’, उनले भने, ‘तर आज दिउँसो उहाँलाई धेरै गाह्रो भयो। अक्सिजन मेन्टेन गर्न हामीले सकेनौँ। त्यसैले अहिले भेन्टिलेटरमा राखेको छौँ।’
तुलनात्मक रुपमा नेता विश्वकर्माको स्वास्थ्य स्थिति बिग्रेको उल्लेख गर्दै डा. पाण्डेले भने, ‘६० प्रतिशत सामान्य अक्सिजन हामीले दिन्छौँ, सर्भाइभ गर्दा ९० देखि ९२ प्रतिशत (स्याचुरेसन एफ आई ओ टू ६० प्रतिशत) दिँदा ९० देखि ९२ प्रतिशत स्याचुरेसन मेन्टेन भइरहेको थियो। कोरोना भाइरसले आक्रमण गर्ने भनेकै फोक्सोमा हो। शरीरको क्यापासिटीले मेन्टेन गरुन्जेल सामान्य अक्सिजनबाट मेन्टेन गर्न सकिन्छ। जब फोक्सोले आफूले सम्हाल्न सक्दैन, त्यसपछि हामीले सपोर्ट दिनु पर्छ। यो भाइरल निमोनिया हो। भाइरल निमोनियाले गर्दा फोक्सोलाई जुन खालको असर गर्छ त्यसैले मानिसलाई गाह्रो बनाउने हो। त्यसपछि मात्र मेकानिकल सपोर्ट चाहिने हो।’
डा. पाण्डेका अनुसार अस्पतालको आइसीयू टिमले नेता विश्वकर्माको एकदमै क्लोज मोनिटर गरिरहेको छ। उपचारका लागि रहसम्भव कोशिस गरिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट गम्भीर भएका विश्वकर्मा चाँडो भेन्टिलेरबाट बाहिर निस्कन सक्ने सम्भावना धेरै रहेको उनले बताए।
देश सञ्चार बाट साभार