Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनुकूल वातावरणको अभावमा म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडे

अनुकूल वातावरणको अभावमा म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १६, २०७७ आइतवार • ०९:४८:४९ बजे
  • 1.4K
    SHARES
  • अनुकूल वातावरणको अभावमा म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडे
    गलेश्वर । अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो । अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका चन्द्रमणि सापकोटाले बताउनुभयो । विशेषगरी मकै बालीभित्र वैशाख÷जेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ । जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायत क्षेत्रमा घैया धानखेती हुन छाडेको हो । पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयाँै रोपनी खेतबारी अहिले बाँझै भएको दानाका कृषक बेलबहादुर पुर्जाले बताउनुभयो । “विगत तीन वर्षयता घैया धान उत्पादन नै हुन छाडेको छ”, उहाँले भन्नुभयो, “कसैले कोदो त कसैले मकै खेती गरेका छन् भने अधिकांश जमीन गौचरनमा परिणत भएको छ ।” कृषि प्राविधिकहरूका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो । घैया धान वैशाख जेठमा रोपेर कात्तिक, मङ्सिरमा भित्र््याउने गरिन्छ । पौष्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् । घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology