नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाएर जाने मनसाय बनाएका छन्। शनिवार दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओलीले अब अलग-अलग हिँड्ने प्रस्ताव गरेका हुन्।
अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच शनिवार दिउँसो सवा १ बजे बालुवाटारमा भेट भएको थियो। भेटमा प्रचण्डले छलफल तिक्ततामा परिणत भएकोले अब सचिवालय बैठकबाट विवाद समाधान गर्नुपर्ने बोलाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको नेकपा स्रोतको भनाई छ।
‘प्रधानमन्त्रीले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्नुभएछ,’ नेकपा एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो।’ ती नेताका अनुसार आइतबार पनि प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए। तर पार्टीका शीर्ष नेताहरूले पार्टी फुटाउन नहुने विषयमा जोड दिएका छन्।
प्रधानमन्त्रीले अलक अलक जाने प्रस्ताव गरेपछि उक्त विषयमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग छलफल गरेका छन्।