कार्तिक १८, २०७७ मंगलवार
•
१७:०१:३१ बजे
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधीसभा सदस्य तथा संविधासभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल, गण्डकीले शोक व्यक्त गरेको छ । व्यवसायी तथा समाजसेवीसमेत रहेका केसीको गएराति साढे १० बजे निवासमै निधन भएको थियो ।
उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको र देशले एक सफल व्यवसायी गुमाएको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
एक विज्ञप्ती जारी गर्दै कांग्रेसले भनेको छ, "देशले एक कर्मनिष्ठ राजनीतिकर्मी, एक सफल व्यवसायी, उद्योगी, समाजसेवी, व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । उहाँले पुर्याएको योगदान सदा स्मरणीय हुनेछ ।"
६३ वर्षीय केसीको मंगलबार बिहान पोखरास्थित शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । उनी पोखरालाई कर्मथलो बनाएर दक्षिण एसियामै चाउचाउ उद्योग खोल्ने पहिलो व्यक्ति समेत हुन । नगर पञ्चायतको प्रधानपञ्च हुँदै संविधानसभा सदस्य र प्रतिनिधीसभा सदस्य बनेका केसीमा सुगरको रोग थियो । गतको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको सम्मुखमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।