Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भोलि म पार्टी एकताका लागि पहल गर्छु' : प्रचण्ड

भोलि म पार्टी एकताका लागि पहल गर्छु' : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १९:०५:४८ बजे
  • 8.7K
    SHARES
  • भोलि म पार्टी एकताका लागि पहल गर्छु' : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहानको सहमति पनि लागू नगरेको गुनासो गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका प्रचण्डले बिहीबार बिहान ओलीसँग भएको कुराकानीबारे जानकारी गराए ।

    images

    आफूसँग बिहान गरेको सहमति लागू नगरेपछि प्रचण्ड बैठक स्थगित गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई भेट्न निस्किएका थिए । ओली र भण्डारीलाई भेटेर फर्किएका प्रचण्डले पछिल्लो अवस्थाबारेमा बैठकमा जानकारी गराएका थिए ।

    प्रचण्डले पार्टी एकताका लागि विभिन्न समयमा अपमान सहेर पनि यहाँसम्म आएको र अन्तिम पटक भोलि अध्यक्ष ओलीसँग छलफल गरेर पार्टी एकता कायम राख्न पहल गर्ने बताए । उनले भने, 'विभिन्न समयमा मैले धेरै अपमान सहेको छु । तर पनि म पार्टी एकताका लागि यहाँसम्म आइपुगे । बिहान उहाँसँगको भेटमा संसद बैठक अन्त्य नगर्ने भन्ने सहमति भएको थियो । त्यस लगत्तै उहाँले क्याबिनेट राखेर निर्णय गर्नुभयो । भोलिसम्म स्थायी कमिटी बैठक नराखौँ । मैले अन्तिम पटक पार्टी एकताका लागि पहल गर्छु ।'

    आफूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राजनीतिक संकट आउने कुनै पनि कदम नचाल्न आग्रह गरेको प्रचण्डले बताए । उनले बैठकमा भने, 'मैले प्रधानमन्त्रीजी र राष्ट्रपति महोदयलाई राजनीतिक संकट निम्तिने कदम नचाल्न आग्रह गरेको छु । उहाँहरुले पनि अहिले अध्यादेश नआएको बताउनु भएको छ ।'

    प्रचण्डले पार्टी कार्यकर्ता र जनताको भावनालाई ध्यान दिएर भोलिसम्म आफूले अन्तिम पटक पार्टी एकताका लागि पहल गर्ने बताए । उनले भने, 'लामो समयदेखि अपमान सहरै यहाँसम्म आइपुगेको छु । पार्टी एकताका लागि भोलिसम्म अन्तिम प्रयास गर्छु । छलफल गरौँ, सहमतिको प्रयास गरौँ, बैठकबाटै निकास खोजौँ भन्दा पनि उहाँले मान्नु भएको छैन । बैठकमा पनि आउनु भएन । पार्टी अध्यक्ष भएर पनि उहाँ बैठकमा आउनु भएन । त्यसैले शनिबारका लागि बैठक बस्नेगरी आजलाई स्थायी कमिटी यहीँ अन्त्य गरौँ ।'

    बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले शुक्रबार दुई अध्यक्ष र पार्टीका अन्य शीर्षनेताबीच छलफल गर्नका लागि बैठक शनिबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए । उनले भने, 'पार्टी एकतामा गम्भीर संकट आएको छ । यसलाई जोगाउन अन्तिम प्रयत्न गरिँदैछ । त्यसैले शनिबारसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।' 

    श्रेष्ठले पनि पार्टीका कार्यकारी अध्यक्षसँग संसद बैठक अन्त्य नगर्ने सहमति गरेसँगै प्रधानमन्त्री ओलीले क्याबिनेट राखेर संसद बैठक अन्त्य गरेको जानकारी दिए । उनले भने, 'संसद बैठक अन्त्य नगर्ने विषयमा बिहान दुई अध्यक्षबीच सहमति भएको थियो । किन फेरि बैठक अन्त्य भयो ? प्रधानमन्त्री बैठकमा पनि आउनु भएन । त्यसको कारण सरकारसँगै होला ।'

    Source : nagarikkhabar

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology