एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तरगत अहिले मतगणना भइरहेको छ । ५० राज्यमध्ये ४५ राज्यमा मतगणना सम्पन्न भएको छ । बाँकी ५ राज्यमध्ये नेभादामामात्रै जो बाइडनले अग्रता लिएका छन् भने बाँकी ठाउँमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।
५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय ६४ र डोनाल्ड ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । राष्ट्रपतीय निर्वाचनमा २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । नेभादामा बाइडन विजयी भएमा उनको आवश्यक मत संख्या २७० नै पुग्नेछ । हुलाकबाट प्राप्त मत गणना चलिरहेकाले बाइडनले चुनाव जित्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हुलाकबाट प्राप्त मतमध्ये ६० प्रतिशत बाइडनलाई प्राप्त हुने हुने अनुमान गरिएको छ ।
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने निश्चित भइसकेको हुन्छ । डेमोक्र्याट्सको पकड रहेको नेभादामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरु पनि गणना गरिनेछ । तर ती मतपत्रहरु चुनावको दिनसम्म पोष्ट मार्क गरिएको हुनुपर्नेछ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ । यहाँ ट्रम्प धेरै मतले पछि छैनन् ।
त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ । पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । पेन्सिलभेनियामा नोभेम्बर ६ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु पनि गणना गर्नुपर्नेछ ।
पेन्सिलभेनियामा अहिलेसम्म ट्रम्प अगाडि छन् । त्यहाँ गन्नबाँकी झण्डै ३० लाख मतपत्रमा झण्डै २० लाख रजिस्टर्ड डेमोक्र्याट्सहरु रहेका अनुमान गरिएको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् । त्यस्तै जर्जियाको मतगणना आजै समाप्त हुने अपेक्षा गरिएको छ । त्यहाँ ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।