प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको चाहना पूरा गर्नका लागि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।
संखुवासभाको किमाथान्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको बाँधको अवलोकनपछि ओलीले कसैले चाहँदैमा आफूले राजीनामा नदिने बताएका हुन् ।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नदिने उनले प्रष्ट पारेका छन् । उनले भने, ‘बिहान बिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको छ । तर, कसैको रहरमा सरकार परिवर्तन हुँदैन । अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’
नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी विभाजनको कल्पना पनि गर्न नसकिने बताए । उनले भने, ‘नेकपा पार्टी साना–साना टुक्रा मिलेर बनेकाले फुट्दैन । पार्टीमा विवाद हुने बित्तिकै पार्टी फुट्दैन ।’
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार गठन हुँदासाथ बिकास निर्माणले गति लिएको दाबी गरेका छन् । बिहान संखुवासभाका विकास निर्माणको अवलोकनका लागि गएका ओली काठमाडौं फर्किइसकेका छन् ।