एजेन्सी । म्यान्मारमा सम्पन्न आम निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीको दलले बहुमत प्राप्त गरेको छ । सूचीको दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले ३६१ स्थानमा विजय हाँसिल गरी बहुमत प्राप्त गरेको हो ।
राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन गर्नेछ भने नयाँ सरकार गठन गर्नेछ।
एनएलडीलाई राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरेको छ ।
मतगणना जारी रहेको ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार अन्य उम्मेदवारभन्दा अगाडि छन्। म्यान्मारभित्र र बाहिर यो चुनावलाई सू चीको लोकप्रियता मापनको रूपमा हेरिएको थियो।
रोहिंग्या प्रकरणपछि विश्वभर नै सू चीको आलोचना भएको थियो। सू चीले प्रजातन्त्रका लागि स्रघर्ष गर्दा पाएका कतिपय सम्मान र पुरस्कार पनि उनीबाट खोसिएका थिए । यद्यपी यसपटकको चुनावी परिणामले देशभित्र भने उनको लोकप्रियता थप बढेको देखिएको छ ।
हालसम्मको मत परिणामलाई हेर्दा उनको पार्टीले सन् २०१५ मा भन्दा धेरै मत र संसदमा धेरै सिट जित्ने पक्का छ।
सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि लाखौँको सङ्ख्यामा रोहिंग्या शरणार्थीहरू देशबाट भागेका थिए।
गम्भीर प्रकृतिको मानव अधिकार हनन् भएको भन्दै म्यानमारबाट सात लाखभन्दा धेरै रोहिंग्या शरणार्थीहरु बाङ्ग्लादेश पुगेपछि सू चीले राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालत द हेगको पनि सामना गर्नु परेको बिबिसीले जनाएको छ ।