आफ्नो सम्पत्तिको संरक्षकबाट पितालाई हटाउने ब्रिट्नी स्पीएर्सको प्रयासलाई अमेरिकाको एउटा अदालतले अस्वीकार गरेको छ। मानसिक स्वास्थ्यको विषय उठेपछि उनका पिता जेमी स्पीएर्सले १२ वर्षदेखि उनको कानुनी संरक्षक रहँदै आएका छन्।
स्पीएर्सका वकिलले पपस्टार स्पीएर्स आफ्ना पितासँग “त्रस्त” रहेको र उनी संरक्षक रहँदासम्म कुनै कार्यक्रम नगर्ने बताएका छन्।
उनका पिताका वकिलले भने उनले सधैँ छोरीको हितका लागि काम गरेको तर्क गरेका छन्। न्यायाधीशले स्पीएर्सले भविष्यमा पितालाई हटाउन थप मुद्दा दायर भने गर्न सक्ने बताएका छन्।यसैबीच, स्पीएर्सको अनुरोधमा वित्तिय कम्पनी बेस्सेमर ट्रस्ट उनको सहसंरक्षण बनेको छ।
मङ्गलवार सुनुवाइको क्रममा स्पीएर्सका वकिल स्यामुअल इङ्गमले बुवाछोरीबीच “लामो समयदेखि बोलचाल” नभएको र उनीहरूबीच “सँगै काम गर्ने सम्बन्ध नरहेको” बताएका थिए।
सन् २००८ यता जेमी स्पीएर्स ब्रिट्नीका संरक्षक रहँदै आएका छन् । तर जेमीकी वकिल भिभियान थोरिनले भने बुवाछोरीबीच लामो समयदेखि कुराकानी नहुनुमा इङ्गमले स्पीएर्सलाई त्यस्तै गर्न सुझाएको बताएकी छन्।
थोरिनले छोरीको संरक्षकका रूपमा पनि पिता स्पीएर्सको बचाउ गरेकी छन्। उनले संरक्षकको रूपमा जिम्मेवारी सम्हाल्दा स्पीएर्सले दशौँ लाख डलरका थुप्रै मुद्दाहरू लडिरहेको बताएका छन्।
पिताको मार्गनिर्देशमा रहँदा अहिले उनको छ करोड डलर बराबर सम्पत्ति रहेको उनले बताएकी छन्। स्पीएर्सका प्रशंसकले उनलाई उनका पिता र अन्यले कैद गरेको राखेको ठान्छन्। त्यसैका लागि “फ्री ब्रिट्नी” नामक आन्दोलन पनि चलेको थियो। बिबिसिबाट