एजेन्सी । अमेरिकाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा डोनाल्ड ट्रम्प हारेपछि उनका लागि भावी दिनहरु निकै कठिन हुने संकेत देखिएको छ । जनवरी २० मा ह्वाइटहाउस छोड्नासाथ ट्रम्पलाई राष्ट्रपतिले पाउने विशेषाधिकार हुँदैन र उनी सामान्य नागरिक सरह हुन्छन । त्यस अवस्थामा उनलाई करिब आधा दर्जन विषयमा मुद्धा चल्न सक्छ । अमेरिकी फेडरल र न्युयोर्कका पूर्व प्रोसिक्युटर डेनियल आफ अलोन्सो भन्छन् “जब ट्रम्प ह्वाइटहाउसबाट बाहिरिनेछन, त्यति बेला माहोल बदलिने छ, अनुशन्धानलाई रोक्ने राष्ट्रपतीय विशेषधिकारको ढाल उनीसंग हुने छैन ।ु राष्ट्रपति ट्रम्पकाविरुद्ध यौन उत्पीडनदेखि धोखाधडीक कैयौं प्रकरण रहेका छन् ।”
ट्रम्पविरुद्ध सबैभन्दा चर्चित प्रकरण यौन प्रकरण रहेको छ । प्लेब्वाय मोडल केरन म्याकडुगल र एडल्ट फिल्म अभिनेत्री स्टार्मी डेनियल्सलाई चुप लाग्न ट्रम्पले पैसा दिएको विषय निकै चर्चित रहेको छ । दुवै महिलाले ट्रम्पलाई आफूसँग शारीरिक सम्बन्ध बनाएको र २०१६ को निर्वाचन अघि चुप लाग्न पैसा दिएको बताएका थिए । २०१८ मा यो विषय बाहिर आएपछि ट्रम्पका विरोधीहरुले उनलाई घेरा हाल्न थाले र यस विषयमा अपराधिक जाँच शुरु भएको थियो ।
यो प्रकरणको शुरुवातमा ट्रम्पका निजी वकिल माइकल कोहेनमाथि केन्द्रित रहेको थियो । उनीमाथि फेडरल कानुन उल्लंघन गरेको आरोप थियो । कोहेनले अनुसन्धानको क्रममा दुवै महिलालाई पैसा दिएको स्वीकार गरेका थिए । यस भुक्तानीलाई वित्तीय नियमको उल्लंघन भएको बताइएको थियो । फलस्वरुप कोहेनलाई तीन बर्षको जेल सजाय भएको थियो । कोहेनले ट्रम्पले सो भुक्तानी गर्न निर्देशन दिएको आरोप लगाएका थिए । त्यति बेला ट्रम्पविरुद्ध प्रशस्त प्रमाण हुँदा हुँदै पनि यो विषयमा उनीमाथि मुद्धा चल्न सकेको थिएन । किनकी अमेरिकी कानुन अनुसार राष्ट्रपतिमाथि अपराधिक मुद्धा चलाउन सकिंदैन । यसको अर्थ यो होइनकी यो प्रकरण बन्द भयो । भुक्तानीका विषयमा ट्रम्प अर्गनाइजेसनसँग सम्बन्धित दोस्रो अपराधिक मामिलामा अहिलेपनि छानबिन जारी रहेको छ ।
त्यस्तै ट्रम्पविरुद्ध कर र बैंकलाई धोका दिएको विषयमा अनुशन्धान भइरहेको छ । सन २०१९ अगस्तमा ट्रम्प अर्गनाइजेसनविरुद्ध अनुशन्धान शुरु भएको थियो। यस विषयमा वित्तीय रेकर्ड र ट्रम्पको आठ बर्षको कर चुक्ताको विवरण मागिएको थियो । त्यसपछि ट्रम्पले आफ्नो विशेष अधिकारको प्रयोग गर्दै यसलाई राजनीतिबाट प्रेरित भन्दै रोकेका थिए ।
ट्रम्प अर्गनाइजेसनविरुद्धमा कर, इन्सुरेन्स र बैंकलाई धोका दिएको विषयमा कैयौं मुद्धा रहेका छन् । यद्यपी सर्वोच्च अदालतमा ट्रम्प पक्षका न्यायाधिशको बहुमत रहेकाले राहत हुनसक्छ तर यो त्यति सहज विषय हैन ।
त्यस्तै ट्रम्प अर्गनाइजेसनविरुद्ध न्युयोर्कमा रियल स्टेटमा धोकाधडीको विषय पनि रहेको छ । न्युयोर्कका महान्यायाधिवक्ता लेटिशा जेम्सले यो केसलाई हेरिरहेको बताइएको छ । यो विषयपनि कोहेनसँग सम्बन्धित रहेको छ । सन २०१९ मा कोहेनले ट्रम्पले बैंकबाट ऋण लिन आफ्नो सम्पतिलाई बढाई चढाई पेश गरेको र कर कम गर्न मुल्य कम देखाएको बताएका थिए । यस विषयमा अहिले प्रमाण जुटाउने कार्य भइरहेको अमेरिकी मिडियामा चर्चा छ । प्रमाण जुटेमा महान्यायाधिवक्ता जेम्सले यस विषयलाई अपराधिक जाँचको रुपमा अगाडी बढाउन सक्ने बताईएको छ ।
त्यस्तै अमेरिकी कानुन अनुसार राष्ट्रपति कार्यालय संचालनका क्रममा विदेशी फाइदा लिन नपाइने र लिनुपरेमा काँग्रेसको सहमति लिनुपर्ने व्यवस्था रहेको छ । तर ट्रम्पले यस सम्बन्धि तीन विषयमा कानुन उल्लंघन गरेको आरोप लागेको छ । विदेशी अधिकारीहरुलाई वाशिंगटन डिसीमा ट्रम्प इन्टरनेशनल होटलमा राखेको विषय पनि रहेको छ ।
त्यस्तै ट्रम्पविरुद्ध कैयौं यौन दुराचारको आरोपहरु रहेका छन् । अधिकांश आरोप उनी राष्ट्रपतिमा निर्वाचित भएपछि बाहिर आएका छन् । यस विषयमा जीन केरल नाम गरेकी महिलाले सन १९९० मा ट्रम्पले मेनहेटनको एक लक्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले बलत्कार गरेको आरोप लगाएकी थिइन् । केरलले ट्रम्पविरुद्ध मानहानीको मुद्धा समेत दायर गरेकी छन् । यो मुद्धा बढ्दै गएपछि अमेरिकी न्याय विभागले यसमा हस्तक्षेप् गर्दै यसलाई ट्रम्पको सट्टा अमेरिकालाई प्रतिवादी बनाइदिएको थियो । यसपछि फेडरल न्यायाधिशले फैसला गर्दै यो प्रकरणमा अमेरिकासँग केहि सम्बन्ध नभएको निर्देशन दिएका थिए । यस विषयमा केरललाई प्रमाण जुटाउन भनिएको छ ।
त्यस्तै ट्रम्पविरुद्ध टिभी शो द अप्रेटिसकी पूर्व प्रतियोगीले सन २००७ मा बेवर्ली हिल्स होटलमा जागिरका लागि कुराकानीका क्रममा उनलाई यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । तर ट्रम्पले भने दुवै आरोपलाई खारेज गरेका छन् ।
त्यस्तै ट्रम्पविरुद्ध उनकी भतिजी मेरी ट्रम्पले दायर गरेको मुद्दाले पनि निकै चर्चा बटुलेको थियो । उनले ट्रम्पले सम्पतिको विषयमा धोका दिएको आरोप लगाएकी थिइन् । मेरीले सन १९८१ मा ट्रम्पका सानो भाईको ४२ बर्षको उमेरमा निधन हुँदा व्यापारमा उनको पनि राम्रो हिस्सा रहेको बताउदै मृत्यु पछि आफुहरुको ख्याल नगरेको आरोप लगाएकी थिइन् । उनले मानहानी स्वरूप ५ लाख डलर जरिवानाको माग गरेकी थिइन् । यो विषयमा ह्वाइटहाउसले मेरीको दाबी गलत भएको बताएको थियो । तर ट्रम्पले यस विषयमा जवाफ दिन अझै बाँकी रहेको बताइएको छ ।
यी प्रकरणमा ट्रम्प अहिले राष्ट्रपति भएकाले अनुसन्धान अगाडी बढेका छैनन् भने केही प्रकरणमा प्रमाण जुटेको छैन । तर उनले राष्ट्रपति निवास छोड्नासाथ यी मुद्दाले उनको फेरी पिछा गर्ने बिबिसीले जनाएको छ ।