प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी बैठक बस्ने भनिएकोमा दिउँसो २ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सचिवालय बैठकमा आफू सहभागी नहुनका लागि पार्टीको बैठकको समय जुधाएर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको उनी निकट एक नेताले बताएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि संगीन आरोपसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि ओली समस्यामा परेका छन् ।
ओलीले नेकपा सचिवालय बैठकमा उपस्थित नहुने र अरु सदस्यलाई पनि उपस्थित नहुन निर्देशन जारी गरेका छन् । ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल मन्त्रिपरिषदमा छन् । सुरुमा दिउँसो १ बजेका लागि तय भएको भनिएको मन्त्रिपरिषद् बैठकपछि २ बजेका लागि भनेर मन्त्रीहरुलाई खबर गरिएको छ ।