एजेन्सी । प्रायः मानिसले ज्योतिषशास्त्रमा विश्वास गरिरहेका हुन्छन् । आफ्नो कुण्डली, राशिफलमा विश्वससहित दैनिक हेर्नेहरुको पनि ठूलो जमात छ । तर, भारतमा भने आफ्नो कुण्डली हेरेकै भरमा आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
मध्य प्रदेशको उज्जैनमा एउटै परिवारका दुई भाइले कुण्डली हरेकै भरमा मृत्युलाई अँगालेका छन् । उक्त घटनामा दाजुको मृत्युपछि भाइले पनि दाइले आत्महत्या गरेकै ठाउँमा आत्महत्या गरेका छन् । दुबै भाइको आत्महत्या प्रकरणमा अब कुण्डलीको सम्बन्ध उजागर भएको छ ।
सोमबार आत्महत्या गर्ने पियुष चौहानका दाइ प्रवीण चौहानले मर्नुअघि आफ्नै कुण्डली बनाएका थिए । जसमा उनले हरेक परिस्थितिमा आत्महत्याको योग देखेको बताएका थिए ।
पियूषका दाइ प्रवीणले कुण्डलीमा रहेको ग्रहहरूको खराब अवस्थालाई संकेत गर्दै लेखेका थिए, “व्यक्तिले जतिसुकै प्रयास गरेपनि आत्महत्याको योग प्रत्येक परिस्थितिमा रहन्छ । अब के बाँकी छ ? केहि छैन ।”
उनले आफूले बनाएको आफ्नो कुण्डलीको अन्तिममा जय महाकाल लेखेका थिए । यसपछि प्रवीण चौहानले शिप्रा नदीमा बनेको पुलमाथि बाट हामफालेर आत्महत्या गरे ।
प्रवीणले मर्नुअघि उनको सुसाइड नोटमा ऋण र बिरामीको बारेमा पनि उल्लेख गरेका थिए । उनले परिवारलाई श्रद्धाकर्म नगर्न आग्रह पनि गरेका थिए । ऋणमा जग्गा खरीदको बारेमा पनि उनले नोटमा उल्लेख गरेका थिए ।
दाइको मृत्यु भएको तीन दिनपछि प्रवीण चौहानको कान्छो भाइ पियुष चौहान पनि नरसिंह घाट पुलबाट हामफालेर आत्महत्या गरे । करिब एक घण्टापछि गोताखोरको मद्दतले उनको शरीर बाहिर निकालियो । प्रवीणको फोटोमा फूल माला दिन माला ल्याउने बहानामा पियुष घरबाट बाहिर निस्केका थिए ।
उक्त घटनामा अब पुलिसले आत्महत्या, ऋण र ब्याजको कोणबाट अनुसन्धान गरिरहेको छ । यस विषयमा मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले एफआइआर दर्ता गरी दुई जनालाई पक्राउ गरिएको बताएका छन् ।